सुख, समृद्धी र धनार्जनकाे लागि धनतेरसका दिन कुनकुन चीज खरिदगर्न उत्तम मानिन्छ ?
इन्भेष्टोपेपर । कार्तिक १५, २०७८
पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ ।
यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीकाे जन्म भएकाे हुनाले धन्वन्तरी दिवशकाे रूपमा समेत मनाइन्छ । धनका देवता कुबेरको विशेष प्रकारले पूजाआजा गरेर जन्मोत्सव मनाउने प्रचलन छ । धनतेरसका दिन नेपाल तथा भारतमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । धनतेरसको दिन सामानहरु किन्ने र दीपदान गर्ने दिन भएकाले वान्छित फल प्राप्तिकालागि विशेष सामान खरिदगरि घर झिलिमिली पार्नुपर्दछ ।
यस दिन विभिन्न वस्तु घरमा भित्र्याउनाले वर्षभर धनको कमि नहुने धार्मिक मान्यता रहेको छ। जानेर बुझेर खरिद गरे देखि लक्ष्मीले कहिले साथ नछोड्ने विश्वास पनि रहेको छ । ज्योतिष शास्त्रीहरुका अनुसार धनतेरसमा निम्न उल्लेखित वस्तुहरु घरमा भित्राउदा आर्थिक लाभ हुने गर्छ।
धनियाका दाना-
धनतेरशका दिन धनियाकाे दानै किनेर घर भित्र्याउनु शुभ मानिन्छ किनकी धनियामा लक्ष्मी माताको कृपा रहने मान्यता रहेको छ। धनतेरसका दिन खरिद गरेकाे सिंगाे धनियाकाे दाना लक्ष्मीलाइ अर्पण गर्दा माता प्रशन्न हुने विश्वास छ । यसका साथै धनतेरसको दिन घरको बगैंचा गमला आदि स्थानमा धनियाको दाना छर्दा लक्ष्मी प्रसन्न हुने गर्छिन्।
गरगहना-आभूषण –
यस दिन आभूषण तथा गहना खरिद गर्नको लागि धेरै शुभ मानिन्छ। अझ कसैलाई पनि थाहा नदिई किनेको गरगहना-आभूषण झनै शुभ हुने मान्यता रहेको छ। यसरी खरिद गरेको गरगहना-आभूषणलाई लक्ष्मीलाई अर्पित गर्दै धन बढेर जाने मान्यता रहेको छ।
शंख–
शंखलाई हिन्दु धर्ममा छुटै स्थानमा राखिने गरिन्छ। शंखलाई घरमा राख्नाले लक्ष्मी प्रसन्न हुने र शंक बजाउँदा धर शुद्ध हुने मान्यता रहेको छ। धनतेरसको दिन घरमा नयाँ शंख ल्याएर लक्ष्मीलाई अर्पित गर्नाले लक्ष्मी प्रसन्न हुने गर्छिन्।
झाड़ू-
घर शान्त, सफा साथै उज्यालो भएको अवस्थामा मात्रै लक्ष्मीको वास हुने मान्यता रहेको छ। यस कारण धनतेरसको दिन नयाँ झाडुले घर सफा गरेको शुभ हुन्छ। झाड़ू खरिद गरी कसैले नदेख्ने गरि नयाँ झाड़ूले घर सफा गरेमा लक्ष्मीको अनुग्रह मिल्न सक्छ।
नुन –
धनतेरसको दिन नुन खरिद गर्ने कार्यलाई पनि धेरै शुभ मानिन्छ। यस दिन खरिद गरिएको नुन प्रयोग गर्नाले स्वास्थ्य राम्रो हुने मान्यता रहेको छ भने नुन खरिद गर्दा कसैलाई नदेखाएको अझ प्रभावकारी हुने गर्छ।
लक्ष्मीमाता तथा गणेशकाे मूर्ति / तस्विर –
धनतेरसका दिन कमलकाे पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशकाे मूर्ति अथवा तस्विर घरमा भित्र्याउनु निकै फलदायी मानिन्छ । मूर्ति खरिद गर्दा ध्यानदिनुपर्ने कुरा के छ भने लक्ष्मीमाता पुष्पासनमा बसेकै हुनुपर्छ, उभिएकाे खरिद गर्नु हुँदैन । गच्छेअनुसार माटाकाे मूर्ति किन्दा पनि फरक पर्दैन ।