अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण कार्यशाला सम्पन्न
इन्भेष्टाेपेपर । भाद्र २४, २०७९
काठमाण्डाैँ । ललितपुरको होटल हिमालयमा भाद्र २१ र २२ गते अतुल्य फाउन्डेसनले आयोजना गरेकाे अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण दुई दिने कार्यशाला सम्पन्न भएकाे छ ।
यस कार्यशालाकाे उदेश्य अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणका विषयमा सरोकारवाला संघ–संस्थाहरुको आवाज नीतिगत क्षेत्रमा काम गर्ने सरकारी संयन्त्र सम्म पुगोस् भन्ने रहेको थियो ।
विभिन्न सरकारी तथा गैर सरकारी संघ–सस्था तथा बहु–अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता थियो । जुन कार्यक्रमले अपाङ्गगता समावेशी जोखिम न्यूनीकरणमा भएका समस्याहरुलाई बुझ्न मदत गरोस् र नयाँ बाटो तर्जुमागर्न मदत पुगोस भन्ने बुझाइ रहेको थियो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव डिल्लीराम शर्माले ‘सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति तर्जुमा गर्ने योजना बनाएको बताउनुभयो । शर्माले भन्नुभयो, –‘२०१५ को भुकम्पपछिको अवस्थाले देखाएको विपद्बाट महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी जोखिममा छन् । यसैलाई दृष्टिगत गर्दै मन्त्रालयले ती समस्यालाई सम्बोधन गर्ने गरी नीति परिवर्तन र कार्यक्रम कार्यान्वयन गर्ने काम गरिरहेको शर्माले बताउनुभयो ।’
कार्यक्रममा महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचवि श्री डिल्लीराम शर्मा, गृह मन्त्रालयका सह सचिव प्रदिप कुमार कोइराला तथा युएसएआइडी तयार परियोजनाकी ट्यामी ह्यारिसले संयुक्त रुपमा गृहमन्त्रालयले स्वामित्व ग्रहण गरेको पुस्तक ‘अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी जानकारीमूलक हातेपुस्तिका’ को नेपाल, अंग्रेजी तथा ब्रेल संस्करणको विमोचन गर्नुभयो ।
दुई दिने सम्मेलनमा नेपालमा अपाङ्गगता समावेशी विपद व्यवस्थापनको विगत, वर्तमान र भविष्य सँग सम्बन्धीत रहेर सञ्चालित छलफल कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेलले –‘विभिन्न नीति, नियम र नियमावली भए पनि अपाङ्गगता समावेशी विपद् जोखिम न्यूनीकरणको क्षेत्र उक्त नीति तथा नियमावलीहरु व्यवहारिक रुपमा भनौं या सही रुपमा लागू भएको छैन । यी बनिसकेका नीतिहरु कार्यान्वयनमा आएका विषय तथा भोग्नुपरेको परिणामलाई नीतिगत हिसावले सुधार गर्दै लैजानु पर्दछ’ भन्नुभयो ।
गृह मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाले अपाङ्गगता समावेशी विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा अझै प्रभावकारी ढंगले काम गर्नका लागि केही खाडल रहेको र आवश्यकताहरु पहिचान गर्न आवश्यक देखिएकोमा जोड दिनुभयो ।
गैरसरकारी संस्थाहरुको महासंघका तर्फबाट बोल्दै डा. विजया बर्जाचार्यले भने नीतिहरु लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा मात्र केन्द्रित थिए र त्यसले पनि महिलालाई मुख्य प्राथमिकता दियो । तर, अब भने अपाङ्गमैत्री लैङ्गिक समानता तथा सामाजिक समावेशितालाई विचार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डा. डिजन भट्टराईले अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण समब्नधी नीतिहरु अपर्याप्त भए पनि विद्यमान नीतिहरुको कडाइका साथ कार्यान्वयन गर्न आवश्यक रहेकोमा र त्यसो भएमा निकै छोटो अवधिमा अर्को स्तरमा पुग्न सक्नेमा जोड दिनुभयो ।
हेमियोफेलिया सोसाइटीका वेदराज ढुङ्गानाले भने हेमियोफेलियाको जोखिमबाट बच्न सक्ने तथा उनिहरुको समस्यालाई समेत सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । अर्का सहभागी सत्यदेवी वाग्ले विपद्का समयमा हामीजस्ता बहिराहरुलाई कसरी जोखिने, त्यस्तो विपदबाट कसरी जोगिने भन्ने विषयमा समेत राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।
अपाङ्गगता भएका व्यक्ति तथा अन्य कसैलाई पनि पछाडि नछोड्नुहोस् भन्ने अर्को एक छलफलमा नेपाल अपाङ्ग महिला संघकी टिका दाहालले भने मेरुदण्डमा हुने चोट तथा अटिज्म भएका महिलाहरुले विपद्को समयमा विभिन्न दुव्र्यवहारको सिकार हुनुपर्ने बाध्यताको विषयमा बोलेकी थिइन् ।
स्वास्थ्य सेवा विभागका डा.रविन्द्र बासकोटाले नेपाल सरकारले अपाङ्गता समावेशी स्वास्थ्य सेवा बनाउनका लागि सातवटै प्रदेशमा अपाङ्गता पुनस्र्थापना सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले १० वर्षे योजना र नीति निर्माण गरिरहेको जानकारी दिनुभयो ।
संयुक्त राष्ट्र संघ विकास नियोग (यूएनडिपी) का तर्फबाट बिन्दा मगरले अपाङ्गतालाई समावेशी बनाउने राष्ट्रसंघीय प्रणालीको आफ्नै रणनीति रहेको बताउँदे लैङ्गिक समानता तथा सामाजिक समावेशीता संयुक्त राष्ट्रसंघको कार्यालयमा लागू भइरहेको छ वा छैन भनी निरीक्षण गर्ने अपाङ्गता कार्यदलको बारेमा समेत जानकारी दिनुभयो ।
जलवायु परिवर्तनका लागि सामूहिक प्रयास सम्बन्धी छलफलमा उमेश बलालले नीतिगत तहका खाडलहरु र स्थानीय तहमा देखिएका अहसमतिलाई मिलाएर लग्नुपर्नेमा जोड दिनुभयो । एनवीआईका कुश कुमार जोशीले विपद् जोखिम न्यूनीकरणका विषयलाई हामीले संस्कार बनाउनुपर्ने, समुदायमा केन्द्रित गरेर तालिमहरु सञ्चालन गर्नुपर्ने तथा अपाङ्गमैत्री संरचना बनाउन निजी क्षेत्रले समे काम गरिरहेको बताउनुभयो ।
कार्यक्रमका दौरानमा नेपाल रेडक्रसका तर्फबाट पुजा कोइराला, एनडिआरसीका तर्फबाट श्याम सुन्दर ज्ञवाली, राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष रमा ढकाल, नेपाल नेत्रहिन संघको तर्फबाट इच्छा केशी, करुणा फाउन्डेशनका शोमा मायाँ विक, नेपाल दृष्टिविहिन कल्याण कोषका महासचिव पवन घिमिरे, पूर्व सह सचिव केदार न्यौपानेले विभिन्न विषयहरूकाे छलफलमा राय सुझाव दिनुभयाे ।
कार्यक्रम समापनका क्रममा अतुल्य फाउन्डेशनका अध्यक्ष पल्लव पन्तले आगामी दिनमा हुने कार्यक्रमहरुमा गैरसरकारी निकाय तथा सरकारी निकायहरुले निजी क्षेत्रलाई समेत समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अपाङ्गगता भएका व्यक्तिहरुले सञ्चालन गरिरहेका विभिन्न निजी संस्थाहरुका प्रतिनिधि प्राय जसो अपाङ्गगताका क्षेत्रमा भएका कार्यक्रमहरुबाट बाहिरिइरहेको अवस्थालाई उजागर गरिदिनुभयो ।
