लागत बढेकाले जीवनजल उत्पादन लगभग बन्द, १४ वर्ष अघि ताेकिएकाे मूल्य यथावत

इन्भेष्टोपेपर । चैत्र २३, २०७८

काठमाडौँ ।  उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ । सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् ।

नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै आएकोमा हाल एक-दुईवटा उद्योगले मात्रै उत्पादन गरिरहेको छ । त्यो पनि ती उद्योगसँग कच्चा पदार्थ मौज्दात रहुञ्जेल मात्रै हो । अब खरिद गरेको कच्चा पदार्थबाट प्रतिप्याकेट १० रुपियाँमा जीवनजल उत्पादन गर्न सकिने अवस्था नरहेको उद्योगीहरू बताउँछन् ।

नेपाल औषधि उत्पादन सङ्घका उपाध्यक्ष सन्तोष बरालले भारत, बङ्गलादेश र चीनबाट महँगोमा कच्चा पदार्थ खरिद गरेर नेपालमा जीवनजल उत्पादन गर्न नसकेपछि उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।सरकारले जीवनजलको उपभोक्ता मूल्य प्रतिप्याकेट १० रुपियाँ तोकेको छ । तर, एक प्याकेट जीवनजल उत्पादन गर्नका लागि १५ देखि १७ रुपियाँ लागत पर्छ भने सधैँ घाटामा मात्र कसरी उत्पादन गर्न सकिन्छ भन्दै उहाँले सात रुपियाँ नोक्सानमा जीवनजल उत्पादन गरेर बिक्री गर्न सक्ने अवस्था नरहेका कारण उत्पादन बन्द गर्नु परेको उहाँले बताउनुभयो । आदि रेमेडिज प्रालिका सञ्चालकसमेत रहनुभएका बराल स्वयंले गएको माघ महिनादेखि जीवनजल उत्पादन गर्न छोडेको जानकारी दिनुभयो ।

“म आफैँ पनि जीवनजल उत्पादन गर्न छाडिसकेँ, पुस महिनासम्म जनतन उत्पादन गरेको थिए, गएको माघ महिनापछि उत्पादन गर्न छाडेँ, कोभिडको समयमा कच्चा पदार्थको मूल्य असाध्यै बढ्यो, त्यसपछि उत्पादन बन्द गर्नुको विकल्प भएन अनि बन्द गरेँ, उपाध्यक्ष बरालले भन्नुभयो ।

हाल भारतमा जीवनजलको मूल्य प्रतिप्याकेट ३२ रुपियाँ छ भने नेपालमा १० रुपियाँ छ, हामीलाई एक प्याकेट उत्पादन गर्नका लागि लागत मात्रै १५ देखि १७ रुपियाँ पर्छ, डिस्ट्रिब्युटर र होलसेल मार्जिनको त कुरै छाडौँ, यस्तो अवस्थामा हामीले कसरी उत्पादन गर्ने उहाँले प्रतिप्रश्न गर्नुभयो ।

२०६४ सालमा औषधि व्यवस्था विभाग, नेपाल औषधि उत्पादक सङ्घ र नेपाल औषधि व्यवसायी सङ्घको सहमतिमा जीवनजलको मूल्य प्रतिप्याकेट १० रुपियाँ तोकिएको थियो । त्यसयता १४ वर्षदेखि यसको मूल्य बढेको छैन । १४ वर्षअघि जीवनजलको मूल्य त्यस समयको बजारलाई हेरेर १० रुपियाँ तोकिएको थियो, त्यसबेला प्रति डलरको भाउ ५५ देखि ५७ रुपियाँ थियो, अहिले प्रतिडलर १२१ रुपियाँ पुगेको छ । कच्चा पदार्थको मूल्य डबल भइसक्यो, लेबलको पनि डबल भइसक्यो तर जीवनजलको मूल्य जहाँको त्यही छ यो अवस्थामा औषधि उत्पादन गर्न गाह्रो छ, उहाँले भन्नुभयो । औषधि उद्योगीहरूले हाल दुर्गम गाउँमा झाडापखाला महामारीका रूपमा फैलियो भने जीवनजल लगभग पाइँदैन । औषधि व्यवसायीहरूले अब यसमा चाहेर पनि केही गर्न नसकिने भन्दै आएका छन् ।

यता औषधि व्यवस्था विभागले महानिर्देशक भरत भट्टराईले जीवनजल अभाव हुने अवस्था आउन नदिने बताउनुुभयो ।अहिले तत्कालै जीवनजलको अभाव हुने अवस्था नरहेको भन्दै उहाँले आवश्यक जीवनजल विशेष निर्देशन दिएर भए पनि उपलब्ध गराउने दाबी गर्नुभयो । महानिर्देशक भट्टराईले औषधि उत्पादन उद्योगी र औषधि व्यवसायीले उठाएका मागप्रति विभाग संवेदनशील भएर यथाशीघ्र समाधान गर्ने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो ।

उहाँले मूल्य समायोजनको विषयमा विभाग एक्कैले चाहेर नहुने हुँदा सकेसम्म चैत महिनाभित्रै उद्योगी र व्यवसायीले उठाएका मागको समाधान गर्नका लागि पहल गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार औषधिको मूल्य समायोजन गर्दा जीवनजल, पारासिटामोललगायतका केही औषधिको मूल्य बढाउनुपर्ने भए पनि केहीको घटाउनुपर्ने पनि छन् त्यो विषय विभागमा रहेको मूल्य अनुगमन समितिमार्फत निर्णय गराएर छिट्टै मन्त्रिपरिषदमा पठाइनेछ । उहाँले औषधिजस्ता संवेदनशील वस्तु उत्पादन र आयात गर्न रोक्ने जस्ता काम नगर्न आग्रह गर्नुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *