नेपाल टेलिकमको ई-शिक्षा प्याकेज, पाँच सय रुपैयाँमा १५ जीबी डाटा

इन्भेष्टोपेपर । वैशाख २१, २०७७ 

लकडाउनकाे वर्तमान अवस्थामा विद्यालय तथा विश्व विद्यालयमा हुने अनलाइन अध्ययन अध्यापनलाई सहज बनाउन नेपाल टेलिकमले ई-शिक्षा प्याकेज ल्याएको छ । 

नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिस गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको हो ।

विशेष ई-शिक्षा प्याकेज अन्तर्गत २ सय ६० रुपैयाँमा ६ जीबी  ५ सय रुपैयाँमा १५ जीबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ ।  २ सय ६० रुपैयाँमा प्राप्त हुने कुल ६ जीबीमध्ये ३ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । 

यसैगरी ५ सय रुपैयाँ मा २८ दिनसम्म उपलब्ध हुने १५ जीबी डाटामध्ये ६ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टामात्र प्रयोग गर्न सकिने छ । बाँकी ९ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ ।

ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रीजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ ।

बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन ५ घण्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको सिस्टमबाटै व्यवस्थित गरिने टेलिकमले जनाएको छ ।

अहिलेको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका यी सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिसका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ । 

कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिस पठाउनु पर्ने टेलिकमले जनाएको छ ।

सिफारिस प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *