असोजमै पाक्यो सुन्तला !

इन्भेष्टाेपेपर । असाैज १२, २०७७

गलकोट — सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ ।  

खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाउनुभएको थियो । गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् । 

“फोहोरपरार यही समयममा उन्सु मात्रै १५÷२० केजी सुन्तला बिक्री गरेको थिएँ, अहिले यसको उत्पादन बढेको छ” खड्काले भन्नुभयो “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार गरिनेछ ।” खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा १०० दाना मात्रै लाग्ने गर्दछ । प्रतिकिलो रु १५० मा बिक्री हुने खडकाको भनाइ छ । 

सुन्तलाका सानो बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले बिक्री गर्न थाल्नुभएको छ । चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ । पाँच वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब १०० सुन्तलाका बोटमा लटरम्म फल लागेपछि उहाँ उत्साहित हुनुहुन्छ । 

“मैले परीक्षणका लागि मात्रै १०० बोट सुन्तला लगाएको थिएँ, परीक्षण सफल भयो अब यसको व्यावसायिक उत्पादनका लागि बगैँचा विस्तार गर्ने योजनामा छु”, खड्काले भन्नुभयो । कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाउनुभएको थियो । नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानी जातका सुन्तला लगाउनुभएको हो । 

व्यावसायिक उत्पादन गर्न सके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताउनुभयो । चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका खड्काले हालसम्म १४ प्रजातिका सुन्तलाका विरुवा लगाउनुभएको छ । उहाँसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । 

मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आउनुभएका खड्का बागलुङकैै अगुवा कृषकका रुपमा चिनिदै आउनुभएको छ । बाह्रै महिना सुन्तला उत्पादन गर्ने गरी बेमौसमी सुन्तलाका बिरुवा विस्तार गरिरहेको खड्काको भनाइ छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *