पश्चिमा मुलुकको मोडेलबाट आर्थिक क्षेत्रको विकास हुन सक्दैन् : झलनाथ खनाल

इन्भेष्टाेपेपर ।  जेठ ६, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा मुलुकहरुको मोडेलबाट मुलुकको आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताउनु भएको छ । 

सम्मानित नेता खनालले आफ्नै मुलुकको आर्थिकस्थितिमा आधारित रहेर मुलुकको आर्थिक विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन जरुरी रहेको पनि बताउनु भयो । सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउन पनि सुझाव दिनु भयो ।

खनालले भन्नु भयो, ‘पश्चिमाहरुले आफ्नो मोडेल सिकाउने गरेका छन । ती मोडेलहरु हाम्रो देशका लागि काम लाग्ने छैनन् । काम लाग्ने कुराहरु मात्रै हामीले सिक्नुपर्दछ । हाम्रो दशको आर्थिक स्थितिमा आधारित मोडेल विकास गरेर मात्रै मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सकिन्छ । त्यसका लागि कृषि क्षेत्रको विकासमा लगानी बढाउनु पर्यो । औद्योगिक क्षेत्रको विकासमा लगानी बढाउनु प¥यो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा विशेष व्यवस्था गर्नुपर्यो ।’

सम्मानित नेता खनालले मुलुकको आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकासमा पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । पूर्वअर्थमन्त्री एवम् काँग्रेस नेता डा. रामशरण महतले मुलुकको दिगो आर्थिक विकासका लागि कृषि क्षेत्रको विकासमा जोड दिने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिनु भयो । उहाँले जलविद्युतको निर्यात गरी मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा लगानी बढाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा देखिएको आर्थिक समस्या तत्काल हल हुने गरी बजेट ल्याउनुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले केपी ओली नेतृत्वको अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेकाले पनि मुलुकमा आर्थिक समस्या देखिएको भन्दै त्यसको समाधान हुने गरी बजेट ल्याउन सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

नेता पुनले मुलुकको आर्थिक विकासका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने र त्यसका लागि आवश्यक प्रविधिको विकासमा लाग्नुपर्ने पनि बताउनुभयो ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *