विद्युतीय बस : खरीद गर्दा महङ्गो, सञ्चालन खर्च ५ गुणा कम

Investopaper, मंसिर ०४, २०७६

काठमाडौं ।  विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने गरेको छ ।

डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक रू. चार हजारसम्मको इन्धनमा खर्च हुन्छ । विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रू. ७५० खर्च हुने प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । जनशक्तिका लागि लाग्ने खर्च भने दुवैमा बराबर नै रहेको उनको भनाइ छ । खरीद मूल्य बढी भए पनि सञ्चालन खर्च कम रहेकाले प्रालिले अहिले यात्रुबाट लिने भाडामा पनि सहुलियत दिइरहेको छ । 

उनले भने, ‘सरकारले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडादरमा हामीले २० प्रतिशत छुट दिइरहेका छौँ ।’ विद्युतीय सवारी साधन चार्ज गर्नका लागि बनाइएका निजी संस्थाले निर्माण गरेका ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिने सरकारले व्यवस्था गरेको छैन । ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिँदा सञ्चालन खर्च कम हुने र यात्रुलाई अझै छुट दिन सकिने उनले बताए । दुई महीना पहिलेदेखि प्रालिले चार ओटा विद्युतीय बस चक्रपथमा सञ्चालन गरिरहेको छ । यही वर्ष २५ बस थप्ने उक्त प्रालिको योजना छ ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *