लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात
इन्भेष्टाेपेपर । कार्तिक २२, २०८३
काठमाडौं । यस वर्षको तिहार (लक्ष्मीपूजा)को साँझ राष्ट्रिय ग्रिडमा बिजुलीको पिक डिमान्ड (उच्चतम माग) १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक डिमान्ड १ हजार ७ सय मेगावाट हाराहारी पुग्ने अनुमान गरे पनि वास्तविक बिजुली खपत प्रक्षेपणभन्दा करिब १ सय १३ मेगावाट बढी भएको जनाएको छ ।
प्राधिकरणको भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) को तथ्यांकअनुसार लक्ष्मीपूजाको साँझ कुल पिक लोड (सिस्टम पिक लोड) २ हजार ४ सय दशमलव ३० मेगावाट पुगेको थियो । सोही समयमा काठमाडौं उपत्यकाको अधिकतम माग करिब ४८९ दशमलव ५० मेगावाट पुगेको भार प्रेषण केन्द्रले जनाएको छ ।
आन्तरिक माग ह्वात्तै बढे पनि मुलुकभित्रै पर्याप्त विद्युत् उत्पादन भएकाले विद्युत् आपूर्ति पूर्ण रूपमा सहज र निरन्तर रह्यो । प्रणालीमा उपलब्ध कुल २ हजार ४ सय दशमलव ३० मेगावाट उत्पादनमध्ये आन्तरिक खपत १ हजार ८१३ मेगावाट भई बचत भएको ५८७ दशमलव ३० मेगावाट विद्युत् भारतीय बजारमा निर्यात गरेको प्राधिकरणले जनाएको छ ।
पिक आवरमा प्रणालीमा कुनै पनि किसिमको अवरोध वा ट्रिपिङ नभई देशैभर विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु रहेको प्राधिकरणले जनाएको छ । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।
