कर्मचारी सञ्चय कोष ६१औँ वर्षमा, गत आवमा ३३ करोड ७८ अर्ब आम्दानी

इन्भेष्टाेपेपर ।  असाैज २, २०७९

काठमाडौँ । कर्मचारी सञ्चय कोषले शुक्रबार स्थापनाको ६१औँ वार्षिकोत्सव मनाएको छ। कोषले ‘सुरक्षित भविष्यका लागि निवृत्तभरण तथा सञ्चय कोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव कार्यक्रम गरेको हो।

२०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो। ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको सुरुवात गरेको कोषले २०५२ देखि कूटनीतिक नियोग, गैरसरकारी संस्थालगायतको कोष कट्टी गर्दै आइरहेको छ।

कोषले २०७६ देखि योगदानमा आधारित निवृत्तभरण योजना र २०७७ देखि सार्वजनिक निकायको निवृत्तभरण तथा उपदान योजनाको सञ्चालन गर्दै आएको कार्यक्रममा जानकारी दिइयो।

वार्षिकोत्सव कार्यक्रममा सञ्चय कोषका निमित्त प्रमुख जितेन्द्र धितालले कोषको वर्तमान अवस्था र भावी कार्ययोजनाको विवरण पेस गर्नुभयो। उहाँले कोष ६१औँ वर्षमा प्रवेश गर्दा विज्ञान र प्रविधिको उच्चतम् प्रयोगलाई प्राथमिकता दिइएको बताउनुभयो। विवरण पेस गर्दै धितालले भन्नुभयो, ‘कोषले क्यूआर कोर्डसहितको कार्डको व्यवस्था गर्नुका साथै, कार्यालयको सम्पूर्ण सुविधा र जानकारीको लागि केएसके मोबाइल एपसमेत सञ्चालनमा ल्याएको छ।’

निमित्त प्रशासक धितालका अनुसार कोषमा ५ लाख ५५ हजार सञ्चयकर्ता छन्। यसबाट कोषले ४ खर्ब ५९ अर्बभन्दा बढी वित्तीय स्रोतको परिचालन गरेको छ। धितालले कोषले सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा सरकारको अनुदानमा सञ्चालन हुने सबै सबै सार्वजनिक निकायका कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान योजना सुरुवात गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘कोषमा ९ भन्दा बढी सार्वजनिक निकाय आबद्ध भएका छन् र यो संख्या निरन्तर बढ्दो क्रममा छ।’

भदौ मसान्तसम्म ३६४ कर्मचारीले केन्द्र, सात प्रदेशमा आठवटा कार्यालय र तीनवटा सेवाकेन्द्रबाट सेवा दिइरहेको छ। निमित्त प्रशासक धितालका अनुसार कोषलाई आर्थिक वर्ष २०७८/७९ मा ३३ अर्ब ७८ करोड आम्दानी भएको छ। यसबाट ४ अर्ब २१ करोड खुद मुनाफा हुने अनुमान छ। यो रकमलाई मुनाफा र सामाजिक सुरक्षा सुविधाको रुपमा सञ्चयकर्ताकै हितमा प्रयोग गर्दै जाने धितालले बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईले कोषले सञ्चयकर्तालाई विश्वास दिलाउने काम गरेर उनीहरूको मन जित्न सफल भएको बताउनुभयो। उहाँले भन्नुभयो ‘सञ्चय कोषमा सञ्चयकर्ताको रकम र भविष्य मात्रै सुरक्षित भएको छैन, सबैलाई लाभ पनि मिलेको छ।’

कार्यक्रममा राजस्व सचिव रामेश्वर दंगाल, नेपाली सेना, नेपाल प्रहरीका उच्च अधिकारी, कोष सञ्चालक समितिका सदस्यलगायतको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा सञ्चय कोषमा २५ वर्षदेखि कार्यरत तीन जना उच्च तहका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरियो। त्यस्तै ६ जना अधिकृतलाई १५ वर्ष सेवा गरेबापत् सेवा पदक प्रदान गरिएको थियो। वार्षिकोत्सवमा यस वर्षको एसईईमा राम्रो जीपीए ल्याई उत्र्तीण हुने कर्मचारीका छोराछोरीलाई नगद पुरस्कार तथा प्रशंसापत्रसमेत दिइयो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *