१४ वर्ष बिते पनि अझै पुनर्स्थापनाकाे पर्खाइमा मुक्त हलिया परिवार

इन्भेष्टाेपेपर ।  भाद्र २१, २०७९

कञ्चनपुर ।  मुक्तिको घोषणा भएको १४ वर्ष बिते पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमाणीकरणमा परेकामध्ये २० प्रतिशत मुक्त हलिया परिवार पुनर्स्थापनाको पर्खाइमा छन् । नौ प्रतिशत मुक्त हलियाले पुनर्स्थापनाका लागि अन्तिम किस्ता रकम पाउन सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशका नौ र कर्णाली प्रदेशका तीन गरी १२ जिल्लामा प्रमाणीकरणमा परेका मुक्त हलिया १६ हजार ९५३ छन् । तीमध्ये हालसम्म १३ हजार ५४६ घरघुरीले पुनर्स्थापन ‘प्याकेज’ प्राप्त गरेका छन् । तीन हजार ४०७ परिवार अझै पुनर्स्थापनको पर्खाइमा छन् ।

सरकारले प्रतिबद्धता गरेको पुनःस्थापनको समयावधि लम्बिँदै जाँदा पुनर्स्थापनको पर्खाइमा रहेका मुक्त हलियाको बसोबासको उचित व्यवस्थापनकार्य हुन नसकेको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका अध्यक्ष ईश्वर सुनारले बताउनुभयो ।

“१४औँ मुक्त हलिया दिवसलाई हलिया समुदायले उत्साह, उमङ्ग र खुसीयालीका साथ मनाउनुपर्ने घडीमा सरकार र मुक्त हलिया महासङ्घबीच भएको पाँचबुँदे सम्झौताको भावना र मर्मअनुरुप हलिया पुनर्स्थापन कार्यमा अपेक्षाकृत प्रगति हुन नसक्दा भारी मनले दिवस मनाउन बाध्य छौँ”, उहाँले भन्नुभयो ।

“तत्कालीन समयमा लगतमा नाम छुटेका मुक्त हलियाको पहिचान हुनसकेको छैन”, उहाँले भन्नुभयो, “पुनर्स्थापन कार्यसँगै शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक, सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दालाई सरकारले विशेष प्राथमिकतामा राखी प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो, त्यो पूरा हुनसकेको छैन ।”

बाँधा श्रमबाट मुक्त भएको १४ वर्ष बितिसक्दा पनि मुक्त हलिया सम्मानित जीवन व्यतित गर्नबाट बञ्चित रहेको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले बताउनुभयो । “कयौँ मुक्त हलिया परिवार पुनः मुक्त हलिया बस्न बाध्य छन्” उहाँले भन्नुभयो, “परम्परागत दासत्वबाट मुक्ति भए पनि चरम गरिबी र स्रोत साधनमा पहुँच नहुँदा हलिया परिवार परम्परागत हलियाबाट आधुनिक सहरिया मजदुरका रूपमा परिणत भएका छन् ।”

न्यायोचित  पुनर्स्थापनाका लागि तीनै तहका सरकारसँग माग गर्दै मुक्त हलियासहित सबै प्रकारका बाध्यकारी श्रमिकका रूपमा काम गरिरहेका श्रमिक वर्गको दासत्वको बन्धनबाट मुक्त गरी आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक अधिकार सुनिश्चित गरी राज्याको मूलप्रवाहमा ल्याई सम्मानित जीवन व्यतित गर्ने वातावरण कायम गरिनुपर्ने उहाँको भनाइ छ ।

पुनर्स्थापनमा परेका मुक्त हलिया परिवारको जीविकोपार्जनको ‘ग्यारेण्टी’ नहुँदा कयौँ परिवार कष्टकर जीवन बिताउन बाध्य भएको हलिया अगुवाको भनाइ छ । “रोजगारी नपाइँदा मजदुरीमा संलग्न हुनुपरेको छ, मजदुरीसमेत थोरै समयका लागि पाइने गरेको छ”, मुक्त हलिया धनीराम सार्कीले भन्नुभयो, “गिट्टी कुट्ने कार्यदेखि पुनः किसानको हलो जोत्ने कार्यमा संलग्न हुनुपरेको छ । सम्मानित जीवन व्यतित गर्ने वातावरण कायम गरिनुपर्ने हाम्रो माग छ ।” सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *