एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
न्भेष्टाेपेपर । जेष्ठ २२, २०८३
काठमाण्डाैँ । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार ८०० कित्ता शेयर कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले जेठ २७ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्मकाे लागि समय थप गरिने छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
