नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण

इन्भेष्टाेपेपर ।  कार्तिक १३, २०७९

काठमाण्डाैँ । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनु भएको नेकपा (एमाले) का सूर्य बहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा उम्मेदवार थापा क्षेत्रीले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।

तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार कार्य गर्नु भएको देखिएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ–तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होईन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?

साथै निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *