नेपाली वस्तुको निर्यातमा १८६ प्रतिशतले वृद्धि

इन्भेष्टोपेपर । माघ १४, २०७८

वीरगञ्ज ।  देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो।

त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात् ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ। यो गत आवको तुलनामा १८५.७६ प्रतिशत बढी हो।

वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो।

उहाँले वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुकोे निर्यात बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको बताउनुभयो।

गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ४४ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा रु ७३ अर्ब ५५ करोड ४४ लाख राजस्व सङ्कलन भएको थियो।

चालु आवको सोही अवधिमा ३२ अर्ब ३५ करोड ३९ लाख बढी अर्थात् रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख राजस्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ। (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *