जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ आँखा पाक्ने रोग

न्भेष्टाेपेपर । साउन १९, २०८०

काठमाडौं ।  विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो ।

काठमाडौंस्थित तिलगङ्गा आँखा अस्पताल, नेपाल आँखा अस्पताललगायत देशभरका अस्पतालमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ । तिलग३्गार अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिनुभयो ।

‘‘यो चाहिँ एउटा भाइरल इन्फेक्सन नै मानिन्छ । आँखा पाक्ने ब्याक्टेरियाका कारणले पनि हुन्छ । तर जुन समुदायमा इपिडिमीक रुपमा फैलिन्छ । त्यो चाहिँ भाइरल इन्फेक्शनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ । त्यसले गर्दा यो रोग फैलिन्छ र, यो आँखा पाक्ने रोगमा आँखा रातो हुने, पाक्ने गर्छ । आँखा पाक्ने साथै रुघाखोकी, ज्वरो पनि आउन सक्छ । कतिपय व्यक्तिमा भाइरल ज्वरो र रुघाखोकी हुन्छ ।  कतिपय व्यक्तिलाई आँखा पाक्ने मात्रै भएर आउँछ ।,’’ रोग विशेषज्ञ अधिकारीले भन्नुभयो, ‘‘महामारी नै भनेर चाहिँ भन्न मिल्दैन । यो पहिला पहिला पनि देखिराख्ने हो । प्रायःजसो अगष्ट, सेप्टेम्बरमा भइरहेको हुन्छ । तर यो पटक पहिलेको भन्दा धेरै नै केसहरु पाइरहेका छौं । अरु बेलामा पनि आँखा पाक्ने समस्या देखिन्छ । सायद गर्मीकै कारणले भाइरसको इन्फेक्सन बढेको हुनसक्छ ।’’

रोग विशेषज्ञ अधिकारीले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाका कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताउनुभयो । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको जानकारी उहाँले दिनुभयो । उहाँले यो पटक विगतका वर्षभन्दा धेरै नै केस देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘धेरै जसो व्यक्तिहरुलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । यस्तै, अप्ठ्यारो महशुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । धेरै जसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भनेर भन्नुहुन्छ । उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङ्गको पत्रहरु जम्न थाल्छ । लेयरहरु जम्न थाल्छ । त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ । कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्नसक्छ ।’’

यसैगरी, आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्यले भाइरसका कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताउनुभयो । उहाँले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने जानकारी दिनुभयो ।

डा. बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अप्ठयारो महशुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने बताउनुभयो । डा.बज्राचार्यले एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाट सर्ने बताउनु भयो ।
डा.बज्राचार्यले भन्नुभयो, ‘‘आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्छ । यो एकदम फैलिन सक्छ । आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ । आँखा पाकिहाल्यो भने आइसोलेसनमा बस्नुपर्छ ।  आँखाको आँसुबाट फैलिन्छ । सँगै बसेर सँगै गफ गरेर फैलिने होइन । एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिने हो । त्यसकारण कुनै व्यक्तिको आँखा पाकेको छ भने उसले परिवारलाई सर्न नदिनका लागि समय समयमा साबुन पानीले हात धुनुपर्छ, स्यानिटाइजर प्रयोग गर्नुपर्छ । आँखा छोइसकेपछि वा आँखामा ड्रप हालिसकेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘भीडभाडमा पनि जानुहुँदैन । कसैकसैलाई त आँखा पाक्ने समस्या भइहाल्यो भने आफैं पनि ठीक हुन्छ । बढि रातो भएको छ, धेरै बिझाएको छ, धेरै सुन्नीएको छ भने हामीले चिकित्सकको परामर्शमा औषधिको प्रयोग गर्नसक्छौं । कसै कसैलाई भाइरस इन्फेक्सनसँगै व्याक्टेरियल इन्फेक्सन पनि हुनसक्छ । त्यसो भएको खण्डमा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ । आँखा पाक्यो भने उज्यालोमा हेर्न अफ्ठयारो हुने हुन्छ । भाइरस कन्जनटिभाइटिसले आँखाको नानीमा पनि सङ्क्रमण भयो भने उज्यालोमा हेर्न गाह्रो हुन्छ । त्यसतो अवस्थामा कालो चस्मा लगाएपछि अलिक सजिलो हुन्छ । कालो चस्मा लगाउँदैमा अरुलाई नसर्ने भन्ने चाहिँ होइन । आँखा धमिलो हुँदै गयो भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।’’

आँखा रोग विशेषज्ञहरुले कुनै पनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याँई गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकित्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन् ।

आँखा पाक्ने रोगबाट बच्न के गर्ने ?
आँखा चिसोले तथा बरफले सेक्ने
सफा पानीले आँखा सफा गर्ने
घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने
सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्नुपर्छ ।

के नगर्ने ?
सङ्क्रमित आँखालाई सकेसम्म नचलाउने
स्कुल, कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने
अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
आफूखुशी औषधिको प्रयोग नगर्ने

(गाेरखापत्र दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *