फेसबुकले ट्रम्पमाथि लगाएकाे निलम्बन फुकुवा
इन्भेष्टाेपेपर । माघ १२, २०७९
फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले डोनल्ड ट्रम्पलाई दुई वर्षअघि गरिएको निलम्बन फुकुवा गर्ने घोषणा गरेका छन्। उक्त घोषणासँगै भूतपूर्व अमेरिकी राष्ट्रपति ती सामाजिक सञ्जालमा फर्किन पाउनेछन्।
मेटाका अनुसार निलम्बन “आगामी साताहरूमा” समाप्त हुनेछ। एक विज्ञप्ति जारी गर्दै मेटाका उच्च अधिकारी निक क्लेगले जनताले “उनीहरूका राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने सुन्न पाउनुपर्छ” भनेका छन्।
सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि पदासीन राष्ट्रपति ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चित कालका लागि निलम्बन गरिएको थियो। क्यापिटल दङ्गामा संलग्न व्यक्तिहरूको “ट्रम्पले प्रशंसा गरेका कारण” त्यस्तो कारबाही गरिएको क्लेगले बताएका छन्।
तर ट्रम्पले विगतमा गरेका “उल्लङ्घनहरू” का कारण उनले पुनः त्यस्तै गल्ती गरे थप कारबाही हुनसक्ने बताइएको छ। ट्रम्पले पुनः राष्ट्रपति पदको प्रतिस्पर्धामा सहभागी हुने तयारी गरिरहेका छन्। उनलाई फेसबुकमा फिर्ता हुने बाटो खोलिदिन रिपब्लिकनहरूले दबाव दिइरहेका थिए।
ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किन पाउने समाचारलाई डेमोक्र्याट र केही सङ्गठनहरूले भने आलोचना गरेका छन्।
नियम उल्लङ्घन गरेको भन्दै ट्विटरले पनि ट्रम्पलाई सन् २०२१ को ज्यानुअरी ६ तारिखमा भएको घटनापछि प्रतिबन्ध लगाएको थियो।
तर गत नोभेम्बरमा ट्विटरमा लगानीकर्ता इलोन मस्कले ट्रम्पको खातामा लगाइएको रोक हटाइएको बताएका थिए। त्यसका लागि उनले ट्विटरमा सर्वेक्षण समेत गरेका थिए जसमा झिनो अन्तरले प्रयोगकर्ता ट्रम्पको पक्षमा उभिएका थिए। तर ट्रम्प भने हालसम्म ट्विटरमा फर्किएका छैनन्।
— बीबीसीबाट