किसानले ‘अण्डा’ को लागत मूल्य पाउँदै

न्भेष्टाेपेपर । भाद्र १३ २०८०

चितवन ।  लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरूलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू हुने गरी ठुलो अण्डाको बिक्री मूल्य प्रतिक्रेट (३० वटा) रु चार सय ५५ र मिडियम रु चार सय २५ तोकेको छ ।

यस अघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय ५० तोकिएको भए पनि कार्यान्वयनमा आउन कठिन भएको थियो । विगतमा भएको नोक्सान र बैङ्क ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा रु १७ हुन आउँछ । किसानले हाल रु १५ पाएका छन् । उहाँको भनाइमा अहिले चल्लाको मूल्य रु एक सय ५० पर्दछ । बिस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ । सामान्यतया यो दानाको मूल्य प्रतिकिलो रु ७० पर्दछ । कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो रु ६५ सम्म पर्ने बताउनुभयो । सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा रु एक सय ६५ खर्च हुने उहाँको भनाइ छ । एउटा अण्डाको उत्पादन लागत रु १४ पैसा ८० पर्ने ढकालको दाबी छ । उहाँले भन्नुभयो “बैङ्कको लगानीको किस्ता तिर्दै एउटा अण्डाको लागत मूल्य रु १७ पर्न आउँछ ।” पछिल्लो समय बढेको मूल्यमा किसानले बैङ्क ब्याज र किस्ता छाडेर लागत मूल्य पाउने उहाँको भनाइ छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेल लागतभन्दा कममा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “लागत मूल्य पाउन नसकेपछि ३० प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन् ।” झण्डै एकवर्ष यता स्वयं व्यवसायीको अग्रसरतामा गरिएको बजारीकरणपछि अण्डाले मूल्य पाएको भन्दै उहाँले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामी देशैभर दौडाहा अभियानमा लागेर बजारीकरण गरेकै कारण लागत मूल्य नजिक पुगेका छाैँ।”

धेरै किसान ऋण तिर्न सक्ने नरहेको जनाउँदै उहाँले केही ऋण थपेर उनीहरूलाई पुनः पेसामा फर्किन वातावरण तयार पार्नुपर्ने उहाँले बताउनुभयो । नेपाल लेयर्स कुखुरापालक सङ्घका सचिव मदन पोखरेलले अबका दिनमा लागत मूल्य पाउन नसके सबै किसान विस्थापित हुने बताउनुभयो । उहाँले भन्नुभयो “दाना र औषधिको मूल्य दोब्बरभन्दा बढी हुँदा अण्डाको उस्तै छ ।”  दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले यकिन तथ्याङ्क नभए पनि रु ३५ लाखको हाराहारी मात्रै उत्पादन हुने गरेको छ । 

दाना, औषधि, मजदुर, बैङ्क ब्याज लगायतको खर्च अत्यधिक बढ्दासमेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुँदै गएका हुन् । यसैबीच नेपाल लेयर्स कुखुरा पालक सङ्घको पोखरामा मङ्गलबार सम्पन्न बैठकले आगामी असोज २६ गते विश्व अण्डा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ । असोज २० गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर सुरु गरिने सप्ताहव्यापी कार्यक्रमको समापन पोखरामा गरिँदै छ ।

सङ्घका अध्यक्ष पोखरेलका अनुसार यस अवधिमा मानव स्वास्थ्यमा अण्डाको महत्वको बारेमा देशव्यापी रूपमा प्रचारात्मक कार्यक्रम गरिने छ । अनाथालय, वृद्धाश्रम, अस्पताल लगायतका क्षेत्रमा अण्डा वितरण गरिँदै छ । जिल्ला जिल्लामा कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । डा अशेष भट्टराईको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम मनाउन लागिएको हो । अध्यक्ष पोखरेलले भन्नुभयो “अण्डाको प्रवर्द्धन र सामाजिक उत्तरदायित्व अन्तर्गतका काम हामीले गर्छौ ।”अण्डा दिवसमा पहिलो पटक देशव्यापी रूपमा कार्यक्रम गर्न लागिएको पोखरेलको भनाई छ । सरकारी निकायसँग सहकार्य गरेर सप्ताहव्यापी कार्यक्रम घोषणा गरिने उहाँले जानकारी दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *