बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

इन्भेष्टाेपेपर ।  चैत्र ५, २०८२

काठमाण्डाै । धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका–१४ की रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाव दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । बालविवाह गरेर छोरीहरूले भोगेका पीडा उहाँले प्रत्यक्ष देख्नुभएको थियो ।

त्यसमा पनि चर्को दाइजोप्रथाको शिकार भएका परिवारको अवस्था देख्दा उहाँलाई छटपटी हुन्थ्यो । तर, समाज उस्तै छ । रुबी हुर्किँदै गर्दा बिहेका त्यस्ता प्रस्ताव धेरै आए । यद्यपि रुबीले आमाबुबासमक्ष आफ्नो अडान राखिरहनुभयो, ‘पहिले देशको सेवा गर्छु, अनि मात्र बिहे ।’ धेरै पटकको प्रतिवादपछि रुबी बालविवाहबाट जोगिनुभयो । सिभिल इन्जिनियरिङमा अध्ययनरत २५ वर्षीया रुबी भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिक सांसद बन्नुभएकाे छ ।

उहाँ श्रम संस्कृति पार्टीबाट निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि उहाँले भावुक हुँदै भन्नुभयो, मधेशको बालविवाह र दाइजोप्रथा जस्ता कुसंस्कार हटाउनुछ ।

मधेशमा धेरैजसाे छोरीहरूको १६ वर्ष नपुग्दै बिहे गरिदिने चलन छ । छोराहरू रुँदै मजदुरीका लागि विदेशिन बाध्य छन् । रुबीका बुवा पनि १० वर्षदेखि मजदुरीका लागि साउदीमा हुनुहुन्छ । ‘अब पहिलो काम उहाँ बुबालाई घर फर्काउन चाहनुहुन्छ । स्वदेशमै रोजगार भए कसलाई विदेशिन मन लाग्छ र ?’, उहाँले भन्नुभयो, ‘स्वदेशमै रोजगार भए, बुबा विदेशिनु पर्थेन । मेरो बुबाजस्ता धेरै नेपाली विदेशमा छन् । उनीहरूलाई स्वदेशमै फर्काउन चाहन्छु ।’ रुबीकाे अर्को मुद्दा स्वदेशमै युवा रोजगार सिर्जना गर्न आवाज उठाउने रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *