पत्रकार महासङ्घ ६७औँ वर्षमा प्रवेश

इन्भेष्टोपेपर । चैत्र १६ २०७८

काठमाडौँ । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ स्थापनाको ६७औँ वर्षमा प्रवेश गरेको छ । पत्रकारको हकहितका निम्ति स्थापित महासङ्घ नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेसागत मुद्धाका लागि अविछिन्न रुपमा लड्दै आएको छ । 

६७औँ वर्षमा प्रवेश गर्दैगर्दा महासङ्घले तीन तहमा बन्दै गएका कानुनका कतिपय व्यवस्थामा असहमति जनाउँदा त्यसलाई सच्चाउनेतर्फ भन्दा तिनलाई उपेक्षा गर्ने चरित्र राज्यले देखाएको जिकिर गर्दै आएको छ । नेपाली प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउने सन्दर्भमा पत्रकार महासङ्घ गम्भीर रहेको तथा त्यसका लागि आवश्यक कानुन बनाउने सन्दर्भमा सकारात्मक रहेको जनाउँदै अध्यक्ष विपुल पोखरेलले नियन्त्रणकारी मनसायका साथ कानुन बनाउने खोजिए महासङ्घले सशक्त प्रतिवाद गर्ने बताउनुभयो ।

उहाँले पुनः महासङ्घसहित सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानुन निर्माण गर्न आग्रह गर्नुभयो । महासङ्घले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना र आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना गर्नुपर्ने माग गर्दै आएको छ ।

अध्यक्ष पोखरेलले दिवसका अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रेस काउन्सिलको पुनःसंरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन र श्रमजीवी पत्रकार कल्याण कोषमा विज्ञापनको १० प्रतिशत रकम राख्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

महासङ्घले पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचारको प्रबन्ध, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका माग पूरा गर्न सरकारसहित सम्बन्धित निकायमा ध्यानाकर्षणसमेत गराउँदै आएको छ । 

शुभकामना सन्देशमा भनिएको छ, “२०७७ चैतमा २६औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले हाम्रा मुद्धालाई प्राथमिकताका साथ उठाउने छ, प्रेस स्वतन्त्रता, श्रमजीवीको सवाललाई केन्द्रविन्दूमा राखेर नै यो कार्यसमितिले आफ्ना रणनीति निर्माण गर्ने छ, यो हाम्रो साझा प्रतिबद्धता हो, महासङ्घको स्थापना दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो दायित्व र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा अपिल गर्दछु ।”

दिवसको अवसरमा आज महासङ्घले प्रभातफेरी, फुटसल प्रतियोगिता, सञ्चारका विविध विषयमा विज्ञसहितको अन्तक्र्रिया, रक्तदान, स्वास्थ्य शिविर जस्ता रचनात्मक कार्यक्रमको  आयोजनासमेत गरको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *