फिफा विश्व कप : उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिडदै
इन्भेष्टाेपेपर । पुष ३, २०७९
काठमाडौं । फिफा विश्व कप फुटबल कतार २०२२ को उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति ८ः४५ बजे खेल सुरु हुनेछ ।
यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो ।
अर्जेन्टिनाका कप्तान ३५ वर्षका लिओनल मेस्सीका लागि यो अन्तिम विश्व कप हो । उनकै नेतृत्वमा अर्जेन्टिनाले गएको वर्ष कोपा अमेरिकाको उपाधि समेत जितेको थियो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा तथा फ्रान्सले सन् २०१८ र १९९८ मा विश्व कपको उपाधि जितेका छन् ।
जारी विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।
