आजबाट रेडियो नेपाल ७४ वर्षमा प्रवेश

न्भेष्टाेपेपर । चैत्र २०, २०८०

काठमाडौँ ।  रेडियो नेपाल आजबाट ७४ वर्षमा प्रवेश गरेको छ । वि.सं. २००७ साल चैत २० गतेबाट सुरुवात भएको मुलुककै जेठोमा पर्ने रेडियो नेपालले ७३ औँ वर्ष पार गरी ७४ वर्षमा प्रवेश गरेको हो ।

२५० वाटको ट्रान्समिटरबाट दैनिक ४ घण्टा प्रसारण सुरु गरेको रेडियो नेपालले हाल २४ सै घण्टा प्रसारण गर्दै आएको छ । सात वटै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय र मुलुकको विभिन्न ३२ स्थानका एफ.एम. रिले स्टेसनबाट रेडियो नेपाल प्रसारण हुँदै आएको रेडियो नेपालले जनाएको छ । 

रेडियो नेपालले हाल २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण भइरहेका छन् । हाल सङ्घीय, प्रादेशिक प्रसारण कार्यालय तथा स्थानीय तहमा एफएम रिले स्टेसनहरू,अनलाइन तथा  मोबाइल एपबाट समेत सुन्न सकिने व्यवस्था गरेको छ । 

रेडियो नेपाल प्रसारणको इतिहास:

नेपालमा पहिलो रेडियो सर्वप्रथम वि. सं. २००३ मङ्सिर महिनामा हाल विद्युत् प्राधिकरण रहेको भवनबाट ५ वाटको शक्तिबाट आरम्भ भएको थियो । यो प्रसारण सात–आठ महिनासम्म मात्र सीमित रही बन्द भएको थियो । यस स्थानबाट दिनको १ः३० देखि ३ बजेसम्म रेडियो प्रसारण हुन्थ्यो । पद्म शम्शेरको देश निकालासँगै मोहन सम्शेर गद्दीमा आएपछि यो प्रसारण बन्द हुन पुगेको थियो । 

जहानियाँ राणाशासनको अन्त्य गर्ने उद्देश्यले २००६ सालमा विराटनगरमा एक आकाशवाणी केन्द्रको स्थापना गरिएको थियो । २००७ साल मङ्सिर २८ गते बिहान ८ः३० बजे एकाएक एउटा प्रसारण सुनियो,‘यो नेपाल प्रजातन्त्र रेडियो हो। हामी विराटनगर मुक्ति मोर्चाबाट बोलिरहेका छौं।’  रघुपति जुट मिलको एउटा कोठामा आकाशवाणी सेट राखेर ४१ मिटर ब्यान्ड सर्ट वेभमा यो कार्यक्रम प्रसारण गरिएको थियो । यसको प्रसारण काठमाडौँ, दार्जिलिङ, कलकत्ता, गोरखपुर र बनारससम्म सुनिएको थियो । यी स्थानहरू २००७ सालको राणाविरोधी सङ्घर्ष सञ्चालनका प्रमुख केन्द्र थिए । सशस्त्र सङ्घर्षका समाचार प्रसारण गर्न यो रेडियो केन्द्र अत्यन्त उपयोगी माध्यम साबित भएको थियो।

याे रेडियो केन्द्रको स्थापना र सञ्चालन गर्न तारिणीप्रसाद कोइरालाको उल्लेख्य योगदान रह्यो। यसका सर्वप्रथम उद्घोषक थिए, गजाधरभक्त माथेमा । तारिणीप्रसाद कोइरालाले नेपालीमा, हिन्दीका प्रसिद्ध कवि फणीश्वरनाथ रेणुले हिन्दीमा र विजयालक्ष्मी [बि.पि. कोइरालाकी बहिनी]ले अङ्ग्रेजीमा समाचार प्रसारण गर्नुहुन्थ्यो । त्यसको केही समयपछि निर्झ भन्नेले हिन्दी कार्यक्रम सञ्चालन गर्नुका साथै हिन्दीमा समाचार प्रसारण गर्न थाल्नुभएको थियो । यो रेडियोको प्रसारणले राणाशासन हटाउन ठूलो मद्दत गर्‍य ाे।

राजा त्रिभुवनबाट २००७ फागुन ७ गते प्रजातन्त्र घोषणा भएसँगै विराटनगर कटन मिलको एउटा सानो कोठाबाट सञ्चालित क्रान्तिकारी प्रजातन्त्र नेपाल रेडियोको प्रसारण बन्द भएको थियो । जनक्रान्ति बन्द भएपछि विराटनगरबाट तारिणीप्रसाद कोइराला काठमाडौं फर्किनुभयो । उहाँले काठमाडौंकै मुटु सिंहदरबारभित्र रेडियो स्थापना गर्ने विचार गरी सुब्बा ऋद्धिबहादुर मल्लको जोरगणेश प्रेस रहेको पाको पोखलड्याङस्थित घरमा प्रथम बैठक राख्नुभएको थियो । त्यस बैठकमा बालकृष्ण सम, मुरारीकृष्ण शर्मा, समरबहादुर मल्ल, हिकमतबहादुर मल्ल, सिद्धिचरण श्रेष्ठ आदि सम्मिलित हुनुहुन्थ्यो । दोस्रो बैठक बालकृष्ण समको निवासस्थान ज्ञानेश्वरमा बसेको थियो । बैठकले सिंहदरबारभित्र राणा प्रधानमन्त्रीका नाति नातिनाहरुलाई पढाउने गरेको बङ्गला, जहाँ आकाशवाणी सेट पनि थियो, त्यहीँबाट २००७ चैत २० गते बिहान र बेलुका गरी एक एक घन्टाको कार्यक्रम प्रसारण गर्ने निर्णय गर्‍य ाे ।

त्यही निर्णयअनुसार चैत २० गते तारिणीप्रसाद कोइरालाको अगुवाइमा बिहान बालकृष्ण सम, रश्मि राज्यलक्ष्मी, मुरारीकृष्ण शर्मा, हरिप्रसाद रिमाल, कृष्णप्रसाद रिमाल, समरबहादुर मल्ल, हिकमतबहादुर मल्ल, हरिबहादुर रञ्जितकार, जीवनाथ लोहनी र प्रतिमान परियार आदि त्यही बङ्गलामा भेला भई रेडियो नेपालको प्रसारणको शुभारम्भ सुरु गर्नुभएको थियो । याे समाचार अनलाइन रेडियो नेपालमा प्रकाशित भएकाे छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *