फोहरबाट ग्यास उत्पादन, वैशाखमा पाइपमार्फत घरघरमा ग्यास वितरण हुने

इन्भेष्टोपेपर । फागुन ९, २०७८

देउखुरी । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत  गरिएको छ ।  नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ । 

प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भन्नुभयाे, “अहिले फोहर कम राखिएको छ । यसले गर्दा ग्यास उत्पादन कम भएको हो । केही समयपछि फोहर धेरै राखेर  उत्पादनलाई वृद्धि गरिने छ ।” प्वान्टमा उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ । उहाँका अनुसार उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घरघरसम्म पुर्याउने योजना छ । यसका लागि पाइप विस्तारको काम सुरु गरिने जनाइएको छ । उहाँले भन्नुभयाे, “हामीलाई आवश्यक पर्ने एनडिपी पाइप हो, यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको हो ।” 

पाइपमार्फत ग्यास प्रयोग गरेबापत उपभोक्ताले मिटरअनुसार रकम तिर्नुपर्नेछ । कोरोना सङ्क्रमणका कारण निर्माण कार्य केही ढिला भएको जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र उपमहानगरपालिका बीचको त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको  व्यवस्थापक श्रेष्ठले बताउनुभयो । पहिलो चरणमा ४५० घरधुरीमा पुर्याउने उद्देश्यले सर्भे गरिएको छ । पछि विस्तार गरिने भएको छ । उत्पादन गरिएको ग्यास वरिपरिका स्थानीयलाई परीक्षण गरिने छ । सफल भएमा उपमहानगरभित्रका सहरमा विस्तार गरिनेछ ।

त्रिपक्षीय सम्झौता २०७५ मङ्सिर ५ गते भएको थियो । ग्यास उत्पादन गर्नका लागि पहिले करिब रु २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घरघरसम्म ग्यास पुर्याउनुपर्ने भएपछि करिब रु २२ करोड लाग्ने उहाँले जानकारी दिनुभयाे । यो रकम घरघरसम्म ग्यास पाइपमार्फत पुर्याउँदा खर्च हुनेछ । फोहरबाट ग्यास उत्पादनका लागि केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैँले बेहोर्ने सहमति भएको जनाइएको छ ।  

संरचना निर्माणका लागि नगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ । उक्त ग्यास प्लान्ट दुई हजार घनमिटरमा छ । फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने उहाँले बताउनुभयाे । कम्पनी र उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई पाँच प्रतिशत रकम दिने सहमति भएको छ । 

उपमहानगरप्रमुख नरुलाल चौधरीले भन्नुभयाे, “नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण हुनेछ । यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र उपमहानगरपालिकाको आम्दानीको स्रोतमा वृद्धि गर्ने लक्ष्य रहेको छ ।” ग्याससँगै कम्पोष्ट मल उत्पादन गर्ने र फोहर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उहाँले बताउनुभयाे । 

जिल्लामा नै फोहरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् । फोहरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो हो । जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाबाट नागरिक आउने गरेका छन् । फोहरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि  फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाको अपेक्षा छ ।

ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत हुनेछ । उपनगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ । यसले नगर सरसफाइमा सहयोग पुग्ने अपेक्षा उपमहानगरपालिकाको छ । उपमहानगरपालिकाले घरघरबाट फोहर खरिद गर्न थालेको छ । बोटल र गुट्खाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । 

उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो । उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रु दश, कपडा प्रतिकिलो रु पाँच, सुर्तीजन्य प्लाष्टिकको फोहोर प्रतिकिलो रु दुई, कापीसहित वर्गीकरणअनुसारका फोहरलाई रु दशदेखि बीससम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ । यसरी खरिद गरिएको गल्ने फोहरलाई बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगसँग समन्वय गरेर बिक्री गरिने उपमहानगरले जनाएको छ  । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *