गौतमबुद्ध विमानस्थल वैशाख ८ बाट चल्ने
इन्भेष्टाेपेपर । वैशाख ५, २०७९
भैरहवा । निर्माण सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै सोहीअनुसार काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
मन्त्री आलेले कोरोना जोखिम घटेकाले अब विमानस्थल २४सै घण्टा सञ्चालन गर्नसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएकाे छ ।
साबिकको १ हजार ५ सय मीटर लामो धावनमार्ग बन्द गरेर अब ३ हजार मीटर लामो नयाँ धावनमार्ग सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिनुभयाे । (रासस)
