आजदेखि गोसाइँकुण्ड मेला सुरु
इन्भेष्टाेपेपर । जेठ १७, २०७९
रसुवा – गंगादशहराको अवसरमा लाग्ने रसुवाकाे गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । मेला भर्नका लागि दैनिक ३० जनाको हाराहारीमा तीर्थयात्री आइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
ज्येष्ठ शुक्ल पक्षका दश दिनमा गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिइ कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप दशहराका अवसरमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।
यसअघिका वर्षहरूमा कोभिड–१९ का कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन हुने समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको तुलनामा गंगादशहरामा गोसाइँकुण्डमा कम तीर्थयात्री आउने गरेका छन् ।
कोभिड–१९ को जोखिम कम भएको र पदमार्गमा पनि कुुनै समस्या नभएको कारण यसपटक मेला सञ्चालन हुने भएको हो । मेला १० दिनसम्म सञ्चालन हुनेछ । धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी– गोसाइँकुण्ड, यार्सा– गोसाइँकुण्ड र सागरकुण्ड– गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । याे समाचार उज्यालाे अनलाइनमा प्रकाशित भएकाे छ ।
