उपराष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा शुभकामना

न्भेष्टाेपेपर । असाेज १५, २०८१

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा एक सन्देश दिनुभएको छ । उक्त सन्देशमा जेष्ठ नागरीककाे सेवा, याेगदान तथा अनुभवहरूलाइ अात्मसात गर्दै सम्मान गर्न अाग्रह गर्नु भएकाे छ ।  

 उपराष्ट्रपतिद्वारा जारी सन्देशकाे पूर्ण पाठः

विश्वभरका ज्येष्ठ नागरिकहरुको योगदानलाई सम्मान र मान्यता प्रदान गर्न समर्पित अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकहरुमा सुख, सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ज्येष्ठ नागरिकले आफ्नो जीवनमा गरेका सेवा, प्राप्त उपलब्धी र समर्पणको कदर गर्न यो दिवसलाई हामीले एउटा अवसरका रुपमा लिन सक्नुपर्दछ । यो उहाँहरुको स्वास्थ्य, आर्थिक सुरक्षा, सामाजिक उपेक्षा र दुव्र्यवहार जस्ता समस्याहरुलाई सम्बोधन गर्नका लागि प्रण लिने र प्रतिबद्धता व्यक्त गर्ने दिवस पनि हो । वृद्धावस्था जीवनको एउटा स्वाभाविक र सामान्य प्रक्रिया हो । अत ः यसै रुपमा ज्येष्ठ नागरिकले आफ्ना अनुभवहरुबाट युवा र समाजलाई लाभान्वित गराउने प्रयास पनि गर्न सक्नुपर्दछ । यसले समाजमा ज्येष्ठ नागरिकको उपादेयता प्रमाणित हुनुका साथै उहाँहरुमा आत्मविश्वासमा पनि बृद्धि हुन सक्दछ । ज्येष्ठ नागरिकहरु समाजका उपयोगी व्यक्तित्वहरु हुन । हामीले उहाँहरुलाई कुनै न कुनै रुप (ज्ञान, सीप, अनुभव आदि) मार्फत् समाज कल्याणमा योगदानका लागि प्रोत्साहन गर्न सक्नुपर्दछ ।

हाम्रो पूर्वीय दर्शन अनुसार प्राचीनकालमा समाजमा ज्येष्ठ नागरिकको अत्यन्तै उच्च सम्मान थियो । संयुक्त–परिवारमा सबै ‘हर्ता–कर्ता’ सर्वाधिक आयु भएकै व्यक्ति हुन्थे । जीवनको लामो अनुभवका कारण उहाँहरुको उपदेश र निर्देशहरु परिवारले ‘ब्रह्मवाक्य’ मानी संयुक्त परिवार संचालित हुन्थ्यो । परम्परागत रुपमा ज्येष्ठ नागरिकहरुलाई ‘प्रतिष्ठा सूचक’ मानिन्थ्यो । खासगरी, संयुक्त परिवारको विघटन पश्चात र समाजमा आधुनिकताको प्रवेशसंगै ज्येष्ठ नागरिकलाई आफ्नै परिवारबाट हेला हुनु अत्यन्तै चिन्ताको विषय हो ।

औद्योगीकरण, सहरीकरण, एकल परिवार, व्यक्तिवाद, पाश्चात्य संस्कृति, धनको बढ्दो महत्व, भौतिकवादी मूल्य लगायतका कारण ज्येष्ठ नागरिक आफैमा समाज, समुदाय र देशमा जटिल समस्या बन्दै जानु अर्को एउटा तितो यथार्थ हो । एकातिर ज्येष्ठ नागरिक प्रति परिवारमा आदर, सम्मान, प्रेम र लगाव समाप्त हुँदै गएका छन् भने अर्कोतिर उहाँहरुमा स्वयं भावनात्मक असुरक्षाको भावना तीव्र रुपमा बढ्दो छ । यी दुखद अवस्थाको अन्त्य हुन नितान्त जरुरी छ । हामीले ‘वृद्धावस्था’ लाई ‘बोझ’ होइन, प्रेरणा, अनुभव, ज्ञानको चौतारीका रुपमा लिन सक्नुपर्दछ ।

‘वृद्धावस्था’ एउटा सर्वकालिक र सर्वव्यापी अवस्था पनि हो । यो अवस्थालाई बाल्यकाल झै अन्यन्तै संवेदनशील मानिन्छ । उत्तरदायित्व समाप्तिपछि व्यक्तिले यो अवस्थामा आध्यात्मिक चिन्तनतर्फ झुकाव बढाउँदछ । शारीरिक क्षमताहरु कम हुन थाल्दछन् । स्मरण शक्ति कमजोर, निर्णय क्षमतामा कमी लगायतका लक्षण पनि देखिन थाल्दछन् । यो अवस्थामा समायोजनको पनि अभाव पाइन्छ, किनभने नयाँ पीढीसंग उहाँहरुको मूल्यलाई लिएर कहिलेकाहीं टकराव पनि हुने गर्दछ । यस्तो अवस्थामा उहाँहरुले आफूलाई असहाय र उपेक्षित पनि अनुभव गर्नु हुन्छ । थरी–थरीका शारीरिक र मानसिक परिवर्तन हुन्छ, रोगहरु पनि यो अवस्थामा धेरै लाग्ने गर्दछ ।

उच्च तनाव, उच्च रक्तचाप, ज्ञानेन्द्रियहरुको क्षमता र काम गर्ने शक्ति कम भएको लक्षण देखिने गर्दछ । समुचित हेरचाह तथा सहानुभूति ज्येष्ठ नागरिकले प्राप्त गर्न नसकेको अवस्थामा अकाल मृत्युवरणको जोखिम बढ्दछ । अतः ज्येष्ठ नागरिकहरुको हेरचाह र उहाँहरु प्रति उच्च सहानुभूति र सम्मान राख्न हामी सबैले आ–आफ्नो कर्तव्य ठान्न जरुरी छ ।

समाज, परिवारका सम्पूर्ण सदस्यसहित नयाँ पीढीले ज्येष्ठ नागरिकलाई घर, समाज र परिवारको धरोहर मान्दै उहाँहरुसंग सामंजस्यता काम गर्न सक्नुपर्दछ । हामीले ज्येष्ठ नागरिक प्रतिको आफ्नो सामाजिक दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । उहाँहरुलाई समाजमा अनुभवहरुको भण्डारका रुपमा हेरिनु पर्दछ । यो एउटा दुर्भाग्य नै हो कि समाज, अर्थव्यवस्था र मुलुकका लागि आफ्नो सबै कुरा अर्पित गरिसकेपछि उमेरको अन्तिम समयमा जब उहाँहरुलाई केही प्राप्त गर्ने अवस्था आउँछ , तब उहाँहरु अभाव र विवशतामा पुग्नु हुन्छ ।

अझ, ज्येष्ठ नागरिकहरुले सामाजिक, व्यक्तिगत, पारिवारिक, मनोवैज्ञानिक, आर्थिक लगायतका समस्याहरुको न्यूनिकरणमा सम्बन्धित सबै क्षेत्र, वर्ग र तप्का सक्रियताका साथ लाग्न पनि उत्तिकै आवश्यक छ । अन्त्यमा, परिवार, समाज र देशमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानहरुको सम्मान गर्दै उहाँहरुको अनुभव र ज्ञान हामी सबैलाई हरेक क्षेत्रमा उपयोग गर्न यो दिवसले उत्प्रेरित गर्न सकोस् । ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, व्यवस्थित, मर्यादित र सुखद बनाउनमा सहयोग पुर्याउन सबैमा हार्दिक आह्वान गर्दै उहाँहरुको सुसफल र सुस्वस्थ्य जीवनको लागि कामना गर्दछु ।

धन्यवाद ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *