आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छः अर्थमन्त्री
इन्भेष्टोपेपर । मंसिर ८, २०७८
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताउनु भएकाे छ । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक नीजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने जिकिर गर्नुभयाे ।
आर्थिक पत्रकार सम्मान केशव गौतलाई तथा आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचन गर्दै मन्त्री शर्माले कोभिड १९ पछि खस्किएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन तथा विकास निर्माण तथा आर्थिक समृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताउनुभयाे । मुलुकको अर्थतन्त्र मजबुद बनाउनका लागि पनि सरकारले निजी क्षेत्रको साथ चाहेको मन्त्री शर्माले बताउनुभयाे ।
“मुलुकको अर्थतन्त्रको पुनरुत्थान तथा विकासका लागि सार्वजनिक निजी क्षेत्रको साझेदारी तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहँदै आएको छ । यसको वातावरण बन्नेमा म विश्वस्त छु,” अर्थमन्त्री शर्माले भन्नुभयाे, “निजी क्षेत्रको विकासका लागि पनि सरकारले सोचिरहेको छ । निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा, सहजिकरण गर्ने सन्दर्भमा सरकार सधै तयार छ । सहुलियत कहाँकहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ । मैले त्यो गम्भिरतापूक लिएको छु ।”
सो अवसरमा मन्त्री शर्माले मुलुको अर्थतन्त्रको आकार निकै सानो भएकाले सबै क्षेत्रलाई एकैपटक उठाउन नसकिने र त्यो सम्भव पनि नभएकाले क्रमशः विकास गर्दै जानुपर्ने बताउनु भयाे ।
“हाम्रो पुँजी निकै सानो आकारको छ । यसले सामाजिक आर्थिक, पूर्वाधारका क्षेत्र, स्वास्थ्य शिक्षाको क्षेत्रको विकासका लागि अर्थतन्त्र विकासमा जोड दिनुपर्नेछ,” शर्माले थपे, “यसका लागि सरकारी–निजी साझेदारीको अहम भूमिका रहन्छ ।”

विकासका लागि साधन स्रोतको कुनै कमी नभएको मन्त्री तर व्यवस्थापकीय कलाको मात्र कमी भएको शर्माले बताउनु भयाे ।
हामीलाई छिटो प्रगति गर्नुछ, विकास पथमा अघि बढ्नुछ, यसका लागि साधन स्रोतको कमी नरहेको चर्चा गर्दै उनले भने, “तर पनि हामी चुकिरहेका छौं । किनकी हामीसँग व्यवस्थापकीय कलाको अभाव छ । यो समस्या चिर्न सक्यौं र सरकारी निजी साझेदारीलाई अझ मजबुद बनाउन सक्यौं भने विकास सम्भव छ, समृद्धि सम्भव छ ।”
मन्त्री शर्माले विकास निर्माणमा निजी क्षेत्रलाई पनि सहभागि गराउने उद्देश्यले सरकारले तयारी गरिरहेको बताउनुभयाे ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाकाे पनि सहभागिता रहेकाे थियाे ।
