हिमालय एयरलाइन्सको काठमाडौं–सांघाई सीधा उडान पुनः सुरु हुँदै
इन्भेष्टाेपेपर । आश्विन ८, २०८३
काठमाण्डाैँ । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं नियमित सीधा उडान पुनः सुरु गर्ने भएको छ। आगामी असोज १२ (सेप्टेम्बर २८) देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सञ्चालन हुन लागेको हो।
कम्पनीले जनाएअनुसार यस रूटमा साताको दुईवटा उडान हुनेछन्, जसअनुसार काठमाडौंबाट सांघाईका लागि प्रत्येक सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौंका लागि मंगलबार र शनिबार उडान तालिका तय गरिएको छ।
तालिका अनुसार काठमाडौंबाट साँझ ६ः२५ बजे प्रस्थान गर्ने उडान भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ। त्यस्तै, सांघाईबाट बिहान ३ बजे उडेको विमान बिहान ७ः१० बजे काठमाडौं अवतरण गर्नेछ।
यस उडानका लागि टिकटहरू हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत बुक गर्न सकिनेछ।
कम्पनीसँग तीनवटा एयरबस ए३२०-२१४ र एउटा एयरबस ए३१९-११५ गरी चारवटा विमान छन्। कम्पनीले चीनसहित यूएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बंगलादेशका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ ।
