हिमालय एअरलाइन्सले पायाे आइएसओ प्रमाणपत्र

इन्भेष्टोपेपर । माघ १०, २०७८

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स् नेपालमै पहिलोपटक आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ । एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गरिएको सो एयरलाइन्स्ले जनाएको छ ।

एअरलाइन्स्ले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेवापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो । आइएसओ ९००१ः२०१५ लाई विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठनद्वारा ( आइएसओ) प्रतिपादित एक प्रभावशाली मानकको रुपमा लिने गरिन्छ । आइएसओ ९००१ः२०१५ प्रमाण–पत्र संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (युकेएएस्) द्वारा सो एअरलाइन्स्लाई प्रदान गरिएको थियो । 

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीका सबै तहमा उच्चस्तरकोे कार्य प्रणाली अपनाउँदै, तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले  आइएसओ प्रमाण पत्र प्राप्त गर्न सफल भएको बताउनुभयो । व्यावसायिक रुपमा सञ्चालन सुरु गरेको एक वर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो भने अगस्त २०२० मा प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ । 

हाल यस एअरलाइन्स्ले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान सेवा भर्दै आएको छ । एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एअरलाइन्स्को ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख सहरमा सेवा सञ्चालन गर्ने योजना रहेको जनाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *