आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने
इन्भेष्टाेपेपर । कार्तिक ५, २०८३
काठमाण्डौ । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आउँदो डिसेम्बर ४ देखि २१ तारिख अर्थात् मंसिर १८ देखि पुस ६ गतेसम्म काठमाण्डौमा सञ्चालन गर्ने जनाएको छ ।
प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा लिग–२ बाट नेपाल, यूएई, नामिबिया र क्यानडाले सहभागिता जनाउनेछन्। त्यस्तै, आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘बी’ बाट शीर्ष दुई स्थान हासिल गरेका इटाली र युगान्डाले पनि प्रतिस्पर्धा गर्नेछन्। च्यालेन्ज लिग ‘ए’ बाट सहभागी हुने दुई टोलीको टुंगो लाग्न भने बाँकी छ।
यस प्रतियोगिताबाट शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् ।
