कृषि प्रधान देशमा मासिक ५ अर्व बढीकाे कृषि तथा पशुजन्य वस्तु आयात

Investopaper, पौष १७, २०७६ 

काठमाडाैं । मुलुकमा ६४ प्रतिशत परिवार कृषि पेसामा आश्रित भए पनि मासिक १५ अर्ब रुपैयाँभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात भइरहेको छ। बजारको मागअनुसार उत्पादन नहुँदा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पौने खर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको हो।

सरकारले कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गरी खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, दूधलगायत वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने बताउँदै आएको छ। सरकारले गत साल बनाएको मध्यकालीन त्रिवर्षीय कृषि योजनामा आव ०७७/७८ सम्म कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य छ।

भन्सार विभागका अनुसार चालु आव २०७६/७७ को पहिलो पाँच महिनामा ७७ अर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको छ। यहीं उत्पादन गर्न सकिने चामल, गहुँ, तरकारी, फलफूल, खाने तेल, माछामासु, जीवित पशु, चिया, कफी, खाद्यान्नको बीउलगायत पनि उच्च मात्रामा आयात भएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयका पूर्व सचिव सुरोज पोखरेल किसानलाई कृषिमा आकर्षित गर्न नसक्दा उत्पादन वृद्धि हुन नसकेको हो।

सरकारले खर्च गर्ने बजेट र सेवा लक्षित समुदायमा पु-याउन नसकेकाले उत्पादन नबढ्दा विदेशबाट आयात गर्नुपरेको पोखरेलको दाबी छ। ‘

८५ प्रतिशत किसानले आवश्यकताअनुसार सरकारी सेवासुविधा पाउन सकेका छैनन्,’ पोखरेलले भने, ‘उत्पादन बढाउन लक्षित समुदायमा अनुदान पु-याउनुपर्छ।’ पोखरेलका अनुसार अहिलेको अनुदान वितरण पद्धति पनि परिवर्तन गर्नुपर्छ। ‘पहिले अनुदान नदिई उत्पादन गरेपछि मात्र दिनुपर्छ,’ उनले भने, ‘तबमात्र उत्पादन वृद्धि हुन्छ।’

किसानलाई दिने अनुदान टाठाबाठाले मात्र प्रयोग गरेकाले उत्पादन बढ्न नसकेको हो। तराईमा उत्पादित खाद्यान्न खुला सीमा हुँदै भारत जाने गरेको तथा नेपालीको खानपान व्यवहारका कारण पनि कृषिजन्य वस्तुको आयात धेरै देखिएको उनको बुझाइ छ।

भन्सार विभागका अनुसार पाँच महिनामा २० अर्ब २१ करोडको अनाज आयात भएको छ। जिउँदो जनावर, मासु तथा मासुजन्य वस्तु ६७ करोड रुपैयाँ, माछासहितका जलीय वस्तु ८३ करोड ३१ लाख, डेरी प्रोडक्ट तथा अन्डासहितका सामग्री ९२ करोड १० लाख, तरकारी तथा कन्दमूल १३ अर्ब २८ करोड, फलफूल १० अर्ब १४ करोड, कफी, चिया, मसला चार अर्ब १५ करोड, तयारी खाद्यवस्तु तीन अर्ब ८४ करोड, खाने तेल, जनावरको बोसोसहितको सामग्री २१ अर्ब ६८ लाख र बीउसहितको विभिन्न सामग्री आठ अर्ब १४ करोड रुपैयाँको आयात भएको छ।

आयातको तथ्यांकसँग सरकारी योजनाले तालमेल खाँदैन। सरकारले कृषिमा गरेको लगानी बालुवामा पानीजस्तै भएको छ। सरकारले यो वर्ष कृषि तथा पशुपन्छीको क्षेत्रमा ३४ अर्ब ८० करोड बजेट विनियोजन गरेको थियो। याे समाचार आजको नागरिक दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *