सन् २०२० मा चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

इन्भेष्टोपेपर । पुष ७, २०७८

बेइजिङ ।  सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु दश बर्षमा करीब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले मङ्गलबार जनाएको छ ।

चिनियाँ महिलाहरूको विकासका लागि रूपरेखा (२०११–२०२०) को अनुगमन परिणामबारे एनबीएसको प्रतिवेदनमा भनिएको छ, “विगत एक दशकमा चिनियाँ महिलाको सामाजिक हैसियत उल्लेख्य रूपमा उठाइएको छ र उनीहरूको उपलब्धि, सुख र सुरक्षाको भावना नाटकीय रूपमा बढेको छ ।”

अनिवार्य शिक्षामा लिङ्गको अन्तर समाप्त भएको छ । प्राथमिक विद्यालय उमेरका बालिकाको शुद्ध भर्ना दर सन् २०१५ देखि लगातार छ वर्षसम्म ९९.९ प्रतिशतभन्दा बढी रहेको छ जुन केटाहरूको दर जस्तै छ ।

विगत एक दशकमा रोजगारीका लागि नीतिगत सुधार र व्यवसाय सुरु भएसँगै महिलाका लागि रोजगारीको माध्यम विस्तार भएको छ । कर्मचारीतन्त्रमा महिलाको सङ्ख्या पनि निरन्तर बढेको देखिएको छ । गत वर्ष शहरी कार्य एकाइहरूमा ६७.७९ करोड महिला कर्मचारीहरू थिए र यो सन् २०१० देखि ३९.५ प्रतिशत थियो ।

रिपोर्टअनुसार हाल चीनको कुल रोजगारको ४३.५ प्रतिशत महिलाहरू छन् । एक दशकको अवधिमा लैङ्गिक समानता र महिलाको सर्वाङ्गीरण विकासलाई अघि बढाउन ऐतिहासिक प्रगति भए पनि कतिपय क्षेत्रमा महिला अधिकार र हितको संरक्षण अझै बलियो बनाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । (रासस / सिन्ह्वा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *