जुम्लामा स्याउ पाकेपछि बगैंचामै पुगे व्यापारी, किसानलाई किलोको ५० रुपैयाँ

न्भेष्टाेपेपर । भाद्र १६ २०८०

जुम्ला । जिल्लाका किसान यतिबेला बगैंचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरीद गर्न किसानको बगैंचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिइन् ।

‘पाकेको स्याउ किन्न किसानको बगैंचामा पुगेर खरीद गरेका छौं,’ स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भने, ‘स्याउको गुणस्तरीयता हेरेर मूल्य निर्धारण गरिएको छ ।’ उनका अनुसार अहिले किसानको बगैंचाबाट प्रतिकेजी रू ५० मा स्याउ खरीद गर्ने गरिएको छ । करीब ७० क्विन्टल स्याउ खरीद गरी सुर्खेत विक्री गर्न लगिएको तिरुवाको भनाइ थियो ।

‘स्थानीय र गोल्डेन जातका स्याउ लगाएको छु । घरमै प्रतिकेजी रू. ५० मा विक्री शुरु गरेका छौं,’ किसान गोरीकला रोकायाले भनिन्, ‘यहाँबाट किनेर स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लगेर विक्री गर्ने गरेका छन् ।’

जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले दुवै जातका स्याउ मिलाएर व्यापारीले लिने गरेको यहाँका किसान बताउँछन् । 

जिल्लामा भएको स्याउ उत्पादन र यहाँबाट भएको निर्यातको विवरण सङ्कलन गर्ने जिम्मा नाग्म प्रहरी चौकीलाई दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार भदौको अन्तिम सातामा जिल्लामा कुल उत्पादन भएको र निर्यात गरिएको तथ्याङ्क सार्वजनिक गरिनेछ । 

गत वर्षभन्दा यस वर्ष ४० प्रतिशतले स्याउ उत्पादन घटेको अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ थियो । जिल्लाका आठओटै स्थानीय तहमा जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउनमा काँचो स्याउ बजारमा विक्री हुन थालेपछि यहाँका स्थानीय तहले विक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए ।

परियोजना कार्यान्वयन एकाइका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *