राष्ट्रिय वाणिज्य बैंक चौतारा शाखाकाे समुद्घाटन
इन्भेष्टोपेपर । कार्तिक १५, २०७८
काठमाण्डाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम सेवाको शनिबार विधिवत रुपमा समुदघाट्न गर्नुभएको हो ।
उक्त अवसरमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्र्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसंग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहांले अबको युग डिजिटल प्रविधिको प्रयोग तर्फ गईरहेकाले डिजिटल बैंकिङ्ग कारोबारबाट हुने जोखिमलाई न्यूनिकरण गर्दै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढीका नगर प्रमुख अमानसिंह तामाङ्ग, वडा नम्बर ५ का अध्यक्ष नरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल लगायत अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २५५ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
