आइसिसी टी-२० विश्वकप-२०२४ को विश्व विजेता बन्यो भारत

न्भेष्टाेपेपर । असार १६, २०८१

बार्बाडोस । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ ।

बार्बाडोसमा शनिबार राति भएको रोमाञ्चक फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो दोस्रो टी-२० विश्वकप उपाधि हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो । 

भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट वञ्चित हुन पुग्यो ।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट हात पारे । अक्षर पटेलले एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।

भारतका लागि फर्ममा फर्किएका विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । यसअघिका खेलमा निराशाजनक प्रदर्शन गर्दै आइरहेका उनले आजको खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै अक्षर पटेलले ४७ र शिभम् दुवेले २७ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्टजेले दुई दुई विकेट लिए । मार्को यानसन र कागिसो रबाडाले एक एक विकेट लिन सफल भए ।

अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको यस विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो पटक विश्वकप खेलेको नेपाल भने समूह चरणबाट बाहिरिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *