सबै बीमा कम्पनीहरूको सहकार्यमा बीमा सूचना केन्द्र स्थापनाकाे तयारी

Investopaper, कार्तिक ०६, २०७६

काठमाडौं — बीमाक्षेत्रमा हुने ठगीका क्रियाकलापलाई नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापना गरिने भएको छ । बीमा समितिले बीमा कम्पनीहरूसँगको सहकार्यमा बीमा सूचना केन्द्रको स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

बीमा समितिले सबै बीमा कम्पनीका प्रमुखहरूसँग यस विषयमा छलफल पनि गरिसकेको र बीमा कम्पनीहरू सूचना केन्द्र स्थापनाका लागि शेयर हाल्न पनि सहमत भएको बताएको छ। नेपालमा हाल १९ जीवन बीमा, २० निर्जीवन बीमा र एक पुनर्बीमा गरी कुल ४० बीमा कम्पनी सञ्चालनमा छन् । प्रत्येक बीमा कम्पनीबाट १/१ लाख रुपैयाँ शेयर रकम उठाउने र त्यसमा बीमा समितिले रू. ३ लाख थप गरेर रू. ४३ लाखको चुक्तापूँजी भएको बीमा सूचना केन्द्र स्थापना गरिने बताइएको छ।

संसद्मा विचाराधीन रहेको ‘बीमा विधेयक, २०७४’ मा पनि बीमा सूचना केन्द्र स्थापना गर्ने परिकल्पना छ। तर, समितिले भने उक्त ऐन लागू नहुँदै बीमा सूचना केन्द्र स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ।समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल आवश्यक कार्यविधि बनाएर ढिलोमा पनि आउँदो असार मसान्तभित्र बीमा सूचना केन्द्र सञ्चालनमा ल्याइने बताउँछन् । उनले भने, ‘अहिले कार्यविधि निर्माण र अन्य पूर्वाधार जुटाउने विषयमा छलफल भइरहेको छ । सकेसम्म बीमा सूचना केन्द्र छिट्टै सञ्चालनमा ल्याउँछौं ।’ प्रारम्भिक चरणमा बीमा सूचना केन्द्रको व्यवस्थापन पक्षको जिम्मेवारी समितिले नै लिने उनको भनाइ छ ।

विदेशी मुलुकका बीमा बजारमा पनि यस्ता प्रकृतिका सूचना केन्द्र सञ्चालन रहेको तथा ती केन्द्रको कानूनी व्यवस्थाका आधारमा बीमा सूचना केन्द्रको संरचना बनाइने पौडेलको भनाइ छ । नेपालमा बैंक तथा वित्तीय संस्थामा हुने ठगीलाई नियन्त्रण गर्न सन् १९८९ मा नै कर्जा सूचना केन्द्र स्थापना गरिएको थियो। सन् २००५ पछि स्वायत्त संस्थाको रूपमा अगाडि बढाइएको यो कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय । संस्थाको ऋण नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्ने गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *