अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन् : कामु गभर्नर ढुंगाना

न्भेष्टाेपेपर ।  वैशाख १४, २०८२

काठमाण्डाैँ । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रुपमा अझै संकटग्रस्त रहेको बताउनुभएकाे छ ।

आइतबार आयोजित राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कामु गभर्नर ढुंगानाले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको समेत उल्लेख गर्नुभयाे। बाह्य सूचकहरु सबल बन्दै गएपनि आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भइसकेको उहाँको भनाइ छ।

‘उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू अर्थतन्त्रमा कायमै छन्’, उहाँले भन्नुभयाे।

यद्यपि केही सूचकहरु क्रमशः सुधार हुँदै गएको पनि उहाँले उल्लेख गर्नुभयाे। मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको ढुंगानाको भनाइ छ। ‘पछिल्लो समय भएको कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ। यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ,’ उहाँले भन्नुभयाे।

नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको पनि ढुंगानाले उल्लेख गर्दै दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कात्तिकदेखि बढ्न थालेको, विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको, वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा उल्लेख्य प्रगति भएको जस्ता सुधार अर्थतन्त्रमा देखिएको कामु गभर्नर ढुंगानाले बताउनुभयाे।

पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परेका उल्लेख गर्दै उहाँले रुस–युक्रेन युद्ध अन्त्य हुने ठोस आधार नदेखिँदा आपूर्ति व्यवधान हट्ने सम्भावना अनिश्चित हुँदै गएको तथा मध्यपूर्वमा जारी द्वन्द्वको अन्त्य अनिश्चित रहेको बताइन्। यस्ता बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवम् बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको ढुंगानाले बताउनुभयाे। पछिल्लो समय खासगरी अमेरिकाको अन्तरराष्ट्रिय व्यापार र आर्थिक सहयोग नीति तथा भूराजनीतिक तनावजस्ता बाह्य कारणले अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम कायमै रहेको तर्फ पनि उनले सचेत गराउनुभयाे।

वित्तीय र मौद्रिक सूचकहरु सुधार्नका लागि राष्ट्र बैंकले हदैसम्मको प्रयास गरिरहेको उनको दाबी छ। ‘अधिक तरलता र न्यून ब्याजदरका साथै बाह्य क्षेत्र परिसूचकहरू सबल रहेको सन्दर्भमा मौद्रिक क्षेत्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन हदैसम्मको प्रयास गरिएको छ’, उहाँले भन्नुभयाे, ‘सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक वृद्धिको पछिल्लो तथ्याङ्कले आर्थिक गतिविधिमा सुधार हुँदै गएको आकलन गर्न सकिन्छ।’

विगतमा आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली प्रभावित हुन गई निष्क्रिय कर्जा अनुपात बढेकोमा आर्थिक गतिविधिमा सुधार भएसँगै निष्क्रिय कर्जा अनुपातमा समेत सुधार हुने अपेक्षा गरिएको कामु गभर्नर ढुंगानाले बताउनुभयाे।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *