अन्तर्राष्ट्रिय आलु दिवसः ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’
इन्भेष्टाेपेपर । जेष्ठ १६, २०८३
काठमाडौँ । आज (शनिबार) अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ ।
यो दिवसले आलु उत्पादन, वितरण तथा उपभोगसँग जोडिएका किसानदेखि मूल्य शृङ्खलासम्मका सबै सरोकार भएकालाई समेट्दै दिगो तथा समावेशी कृषि–खाद्य प्रणाली प्रवर्धन गर्ने उद्देश्य लिएको छ । आलु, वैज्ञानिक नाम सोलानम ट्युबेरोसम हो । विश्वका अर्बौं मानिसको नियमित आहारमा समावेश हुने प्रमुख बालीमध्ये एक हो ।
एफएओका अनुसार आलु विश्वका १५९ देशमा खेती गरिन्छ भने यसको करिब पाँच हजार प्रजातिहरू विश्वभर पाइन्छन् । करिब ८ हजार वर्षदेखि मानव सभ्यतासँग जोडिएको यो बाली आज पनि उत्तिकै महत्त्वपूर्ण खाद्य सुरक्षा र जीविकोपार्जनको आधारका रूपमा रहँदै आएको छ ।
उच्च पहाडी क्षेत्रदेखि समथर भू–भागसम्म विविध कृषि प्रणालीमा खेती गरिने आलुले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यसको उत्पादनले ग्रामीण तथा शहरी दुवै क्षेत्रमा रोजगारी सिर्जना गर्दै गरिबी न्यूनीकरणमा सहयोग पु¥याएको छ । साना किसानदेखि ठुला व्यावसायिक कृषि फार्मसम्म फैलिएको यस बालीले विश्वका विभिन्न महादेशमा आर्थिक गतिविधि चलायमान बनाएको छ ।
यस दिवसले सन् २००८ मा मनाइएको अन्तर्राष्ट्रिय आलु वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आलु बालीको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखेको छ । विशेषगरी साना पारिवारिक किसान, जसमध्ये उल्लेख्य सङ्ख्या महिला किसानको रहेको छ, उनीहरूले आलुको विविध प्रजाति संरक्षण र प्रवर्धनमा खेलेको भूमिकालाई पनि यस अवसरमा सम्मान गरिनेछ ।
त्यसैगरी, आलुको सांस्कृतिक तथा पाक परम्परासँग जोडिएको विविधतालाई पनि विश्वव्यापी रूपमा मनाइने यो दिवसले उजागर गर्ने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसङ्घले बढ्दो भोकमरी, गरिबी र जलवायु परिवर्तनजस्ता चुनौती सामना गर्न दिगो कृषि प्रणालीको विकासमा आलुजस्ता बालीको योगदान महत्त्वपूर्ण हुने जनाएको छ । (रासस)
