नेपाल पुनर्बीमा कम्पनीले चैत ४ गतेबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने
इन्भेष्टोपेपर । फागुन २३, २०७६
नेपाल पुनर्बीमा कम्पनीले आगामी चैत ४ गतेबाट १ अर्ब ६० करोडको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
प्रतिकित्ता १०० का दरले १ करोड ६० लाख कित्ता साधारण शेयर मध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेकाे १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेडले जनाए अनुसार न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सबै शेयरकाे लागि अावेदन परेमा ४ कार्यदिनभित्रमा र नपरेमा चैत १८ गते निष्काशन बन्द हुनेछ ।
हाल नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब , जारी पूँजी १० अर्व र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ। आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा बलियो रहेको संकेत गर्दछ।
शेयर खरिद गर्न चाहाने लगानीकर्ताले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसैगरी मेरोशेयरका प्रयाेगकर्ताहरूले घरमै बसेर आवेदन दिन सक्नेछन।
