लकडाउन पालनामा थप कडाइ गर्दै काठमाण्डौ महानगरपालिका

इन्भेष्टोपेपर । वैशाख ०६, २०७७

काठमाण्डौ । नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाण्डौ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ ।

भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशनै पूर्णरुपमा लकडाउन गरेको छ । 

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार नगरिकले अटरे गरिरहेकाले केन्द्र सरकासँग समन्वय गरी लकडाउनको थप कडाइ गर्ने तयारी भइरहेको छ । महानगरले नागरिकलाई सजग गराउनकै लागि हरेक दिन टोलटोलमा प्रहरी परिचालन गरेको छ भने जनचेतनामूलक कार्यक्रम पनि नियमित सञ्चालन गरिरहेको छ । यसको कुनै प्रवाह नै नगरी नागरिकले टोलटोलमा जम्मा हुने र भीडभाड गर्न कमी नआएकाले महानगरले अन्य थप कदम सञ्चालन गर्न लागेको हो । 

भनेको भन्दा बढी समय बिहान बेलुका हाट बजार सञ्चालन गरेझैँ विभिन्न खाद्य पसल र तरकारी बजारमा भीड हुँदा घरघरमा कोरोना भाइरस जाने सम्भावना बढेको भन्दै महानगरले चिन्ता व्यक्त गरेको छ । पसलमा हुने भीड कम गर्नकै लागि महानगरले विभिन्न ११ स्थानमा तरकारी पसल सञ्चालनको अनुमति दिएको छ भने खाद्य सामग्रीका पसललाई पनि बिहान ८ बजेसम्म खोल्न भनेको छ । 

लकडाउनको शुरुको समयमा नै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कुनै पनि नागरिकलाई घरमा नै रहन आग्रह गर्दै उक्त समयमा कुनै किसिमको समस्या आइपरेका सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न भन्दै सबै जनप्रतिनिधिको मोबाइल नम्बर सार्वजनिक गर्नुभएको थियो । 

महानगरको बाहिरी क्षेत्रमा लकडाउनको राम्रोसँग पालन भए पनि भित्री क्षेत्र मखन टोल, इन्द्र चोक, असन, दमाइटोल, क्षेत्रपाटी, शोभा भगवतीलगायतका स्थानमा नागरिकले लकडाउनको उल्लङ्घन गरिरहेको जनाइएको छ । यी स्थानमा नै अब कडा निगरानी गर्ने तयारी गरिएको छ ।

— रासस 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *