सूर्तीजन्य पदार्थमा कर कम

इन्भेष्टोपेपर ।  असाैज ०१, २०७७

अर्बुद क्यान्सर रोग गराउन महत्वपूर्ण भूमिका खेल्ने सूर्तीजन्य पदार्थमा कर बढाउन नेपाल सरकारसँग पटकपटक अनुरोध गरे पनि नबढेको भन्दै अभियानकर्मीले आपत्ति जनाएका छन् । 

नेपाल अर्बुद रोग निवारण संस्थाको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिबाट आयोजित कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफू मन्त्री भएका बेला कर बढाउन प्रस्ताव गरेपनि अर्थ मन्त्रालयका कारण सम्भव नभएको जानकारी दिनुभयो ।  “कर बढाउन सकिएको भए राजश्वका लागि पनि राम्रो हुने थियो, संस्थाले सञ्चालन गरेको भक्तपुर क्यान्सर अस्पताल नियम कानून विपरीत नगरपालिकाले कब्जा गर्दा पनि केन्द्रीय सरकार मूकदर्शक बनेको छ”,उहाँले भन्नुभयो । 

नेपाल विकास अनुसन्धान परिषद्का निर्देशक डा जयकुमार गुरुङले नेपालमा प्रत्यक्ष रुपमा ३२ प्रतिशत मानिसले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्य अनुसन्धानबाट देखिएको जानकारी दिनुभयो । अधिकांश युवाले सूर्तीजन्य पदार्थमा कर बढाउन पटकपटक आग्रह गरेपनि सरकारले नसुनेको उहाँले सो अवसरमा सुनाउनुभयो । नेपाल दक्षिण एसियामै सूर्तीजन्य पदार्थमा कम कर लगाउने देश भएको सो अवसरमा जानकारी गराइएको थियो ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठले नेपालमा वार्षिक १० हजार महिलामा पाठेघरको क्यान्सर हुने गरेको उल्लेख गर्नुहुँदै यस विरुद्धमा विभिन्न देशमा दिइएको एचपीपी खोप देशभर सर्वसुलभ बनाउन माग गर्नुभयो ।

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको परीक्षण र औषधि महँगो पर्ने भएकाले यो रोग लाग्न नदिने गरी होशियार हुन आह्वान गर्नुभयो । कार्यक्रममा सञ्चारकर्मी कृष्णा ताम्राकारले धैर्य राखी आत्मविश्वास बढाएर खानपीन लगायत विषयमा पथपरहेजमा रहन सके क्यान्सरमाथि विजय पाउन सकिने अनुभव सुनाउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *