रहस्यमय कहानी हो जिन्दगानी !

-- मुस्कान पाण्डे

जिन्दगीको यो गोरेटोमा कोहि सुखको गीत गाउँछन् , कोहि दुखको ताली पिट्छन्, कोहि सपना देखिरहन्छन्।  कोहि संघर्ष गर्न रुचाउँछन् , कोहि ओठको कुनामा हाँसो छर्दै ब्युँझन्छन्।कोहि आँसु पोखेर आफ्नो पिडा भुलाउँछन्। कोहि कसैको यादमा जीवन बिताउँछन्, कोहि कसैको यादमा तड्पिएर बिलाउँछन।

जिन्दगी यस्तै रहेछ।

यहाँ सबैको आफ्नै आफ्नै कथा हुँदो रहेछ। कसैको सपनाको कथा, कसैको संघर्षको कथा, कहिँ सुखको कथा, कहिँ दुःखको कथा, कतै मायाको कथा, कतै बिछोडको कथा।

आखिर जिन्दगी एक कथा नै रहेछ। जिन्दगीको कथा नै जिन्दगी अनि जिन्दगी नै कथा भएपछी यहाँ कथा अनुसार बयान पनि आफ्नै आफ्नै अनि बेग्ला बेग्लै हुँदो रहेछ।

जिन्दगीमा खुशी हुने रहर कसलाई पो हुँदैन? खुशी हुने प्रयास गर्दा गर्दै पनि दुःख र पीडाले मानिसलाई बेला बखत पछ्याइ रहन्छ। मानिस दुःख गर्दै भए पनि सुखको सपना देख्ने गर्छ्न। र दुःखबाट मुक्त्ति पाउने सोचमा रम्छन्।

दुःख के हो भन्ने कुरा त आफैले भोगेकोलाई मात्र थाहा हुन्छ। टुटेको मुटुले मायाको अर्थ बुझे जस्तै दुःख र अभाव भोगेकाहरुले नै जिन्दगीलाई नजिकबाट नियालेका हुन्छन् र जिन्दगीलाई बुझेका हुन्छन्।सायद त्यसैले होला उनीहरु जति जे हुँदा पनि खुशी नै देखिन्छ्न्। सायद सन्तुष्ट हुन सिक्नु पनि खुशी हुन सिकेजस्तै हो।

जिन्दगी जिउन जाने जस्तै हो।

तर सोचे जस्तो अनि चाहे जस्तो कहाँ हुन्छ र जीवन? यहाँ दुख, सुख, खुशी, संघर्ष, पीडा  सबैलाई अङ्गालेर बाँच्न नै हिम्मत र साहस चाहिन्छ। र यहाँ प्राय सबै मानिस आँटिला र साहसी नै छन् किनकी सबै आफ्नै आफ्नै जिन्दगीमा आफ्नै आफ्नै कथालाई अङ्गाल्दै अघि बढिरहेका हुन्छन्।

कसैलाई यो जिन्दगी उकाली जस्तै लाग्न सक्छ। अलिकति हिँडेपछी शरीर थकित बनाउने जति माथि गयो फर्केर हेर्दा उति त्रसित बनाउने। कसैलाई यो जिन्दगी ओरालो जस्तै लाग्छ जसरी हिँडे पनि कहिल्यै नथाक्ने!

जति दौडिए पनि पाइला पटक्कै नरोक्किने। तर कसैलाई चर्को घाम अनि भयानक गल्लीहरुमा, जिन्दगी एउटा शितल छहारी जस्तै लाग्छ। बोकेको भार बिसाउन कतै चोतारी भेटेजस्तै लाग्छ।अलिकती आश माथि अलि कति बिश्वास राख्दै थोरै प्रयास गर्दा एक मुठ्ठी सास पाएजस्तै लाग्छ।

जिन्दगीमा घटेका घटना, तिता अनि कोक्याउने विपना, आफूले काखी च्यापेर बसेका सपना, कसैको मीठो साथ, रङ्गिन पल अनि कसैले आफूमा लिएर आएको परिवर्तन र कसैले बाँढेको ज्ञान कहाँं बिर्सन सक्किन्छ र?

ती बटुलेका ज्ञान अनि अनुभवहरुलाई कसरी नजरअन्दाज गर्न सक्किन्छ र? आखिर यो जिन्दगी भनेकै सिक्नु र सिकाउनु सुख-दुःखलाई अंङ्गालेर बाँच्नु न हो, कहिँ,कतै,केही अलि कति अझै बाँकी हुँदा आफूभित्र आफैलाई खोज्नु न हो।

आँखामा सजाएर राखेका सपनाहरु पुरा गर्न कहिले कतै कुनै गल्ली अनि गोरेटोहरु चारिरहनु न हो। केही पाउनु केही गुमाउनु केही कुराको आश गर्नु अनि फेरि जे छ त्यसैमा रमाउनु यहि नै त हो जिन्दगी।

जिन्दगी त पुरै समयकै कैदमा हुँदो रहेछ, यहाँ मात्र केही पलहरु खुलेर जिउन मिल्दो रहेछ। त्यसैले मलाई जिन्दगी एक कथा जस्तै लाग्छ। जति पाना पल्टायो उती अधुरो लाग्छ। उती अपुरो लाग्छ।

तर जिन्दगी भने कहिले चर्को घाम, कहिले शितल छायाँ, कहिले जङ्गल, भिर, पाखा त कहिल्य सम्म अनि बिरानो वस्ती हुँदै, कहिले आफीमा रमाउँदै, कहिले आफूमा हराउँदै, कहिले हरेक किस्सालाई आफ्नो बनाउँदै, आफ्नै बाटो हुँदै उकाली लागिरहन्छ।

कहिले कसैलाई पर्खदैन यो समय र जिन्दगीले।

त्यसैले कोहि छुट्छन् पछाडी, कोहि बढ्छन् अगाढी, कोहि पुग्छ्न् गन्तव्यमा, कोहि अल्मल्लिन्छन् यो गोरेटोमा, कोहि टुट्छन,कोहि सम्हालिन्छन् तर चलिरहन्छ जिन्दगानी। यो जिन्दगीका किस्साहरु मात्र एक रहस्यमय कहानी।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *