कोरोना रोकथामका लागि ४१ ओटा जिल्लामा निषेधाज्ञा आदेश : गृह मन्त्रालय
इन्भेष्टोपेपर । बैशाख २०, २०७८
काठमाडौं । सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ संक्रमण रोकथामको प्रयास कायमै छ ।
दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिवारसम्म २९ ओटा जिल्लामा निषेधको आदेश जारी भएको थियो । आइतवार ३१ ओटा जिल्लामा जारी भएकामा सोमवार बिहानसम्म ४१ ओटा जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले बताएको छ ।
केही जिल्लामा सोमवार रातिदेखि आदेश कार्यान्वयनमा जाँदै छ भने केही जिल्लामा मंगलवारबाट लागू हुनेछ । अधिकांश जिल्लामा आदेश कार्यान्वयनमा रहेको मन्त्रालयले बताएको छ ।
प्राप्त विवरणअनुसार बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ र बैतडीमा निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै रामेछाप, ताप्लेजुङ, अर्घाखाँचीमा सोमवार रातिदेखि लागू हुनेगरी र नुवाकोट, धनुषा तथा दैलेखमा मंगलवारदेखि लागू हुने गरी आदेश जारी गरिएको छ । त्यसमध्ये रामेछाप, ताप्लेजुङ, स्याङ्जा, कालीकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बाग्लुङमा आंशिक निषेधाज्ञा छ । (रासस)
