रतिरागमा मर्छन् धेरै गैँडा

इन्भेष्टाेपेपर । भाद्र ४, २०७९

भरतपुर ।  गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो। खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए। गैँडाको पोस्टमार्टम गर्नुभएका निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ भालेको आक्रमणमा परेर पोथी गैँडा मरेको बताउनुहुन्छ। 

डा. श्रेष्ठका बुझाइमा जुधेर पोथी गैँडा मर्नु अपवाद हो। यस्तै अपवादमध्येको एक घटना यो पनि हो। जङ्गलमा पोथी गैँडालाई भालेले सहवासका लागि आग्रह गर्दा नमानेपछि रिसले भाले गैँडाले जबर्जस्ती गर्न खोज्छ र एकापसमा जुधाइ हुँदा सक्ने पोथी भाग्छ र नसक्नेले आत्मसमर्पण गर्छ। यो घटनामा पोथी गैँडाले सहवास गर्न नमान्दा भालेको जुधाइले थिलथिल भएको गैँडा अन्तिममा मृत अवस्थामा भेटिएको हो। 

डा. श्रेष्ठ भाले गैँडाभन्दा पोथीले नै यौन चाहना पहिला राख्ने तर कहिलेकाहीँ यस्ता अप्रिय घटनाहरू पनि हुने बताउनुहुन्छ। डा. श्रेष्ठले भन्नुभयो, “पोथी गैँडाले तुरुक्क तुरुक्क पिसाब फेर्दै, कराउँदै भाले गैँडा खोजेको सन्देश दिन्छे। भाले पनि उसैको पिसाब सुँघ्दै पोथीको पछाडि दगुर्छ तर यो क्रिया सधैँ भालेले चाहेजस्तो नहुने भएकाले पोथीमाथि आक्रमण पनि हुनेगर्छ। 

गैँडाको सहवासको प्रसङ्ग थप्दै डा. श्रेष्ठ थप्नुहुन्छ, “सुरुमा त भालेले पोथी लखेटेर भेट्न खोज्छ। पोथी पनि भाग्छे तर फर्कंदै उसलाई हेर्दै भाग्छे। अनि उनीहरूको भेट हुन्छ, पहिला सिङ जुधाएर किस खान्छन्। अनि उनीहरूको रसरङ्ग सुरु हुन्छ।” गैँडाको सहवास कम्तीमा आधा घण्टादेखि डेढ घण्टासम्म हुनेगर्छ। 

सहवासको समयमा धेरै भाले र एउटा मात्र पोथी गैँडा भएका बेला गैँडा जुध्ने निकै सम्भावना हुन्छ। बलियो भालेले कमजोर भालेलाई लखेट्ने, घाइते बनाउने गरेको घटना निकुञ्जमा निकै धेरै भेटिन्छन्। निकुञ्जमा मर्ने गैँडामा भालेको सङ्ख्या बढी हुनुले पनि यो तथ्यलाई पुष्टि गर्छ। 

निकुञ्जको तथ्याङ्कअनुसार गएको एक वर्षमा चितवनमा मरेको ३७ वटा गैँडामध्ये जुधेर मर्ने गैँडाको सङ्ख्या ९ वटा छन्। जसमध्ये ६ वटा भाले, एक वयस्क पोथी र दुईवटा २ वर्षमुनिका पोथी हुन्। आमासँगै बसेको बच्चालाई भालेले सहवासमा बाधा पु-याएको महसुसपछि आक्रमणमा पर्ने गरेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भन्नहुन्छ, “गैँडाको सहवासका लागि सकेसम्म खुला ठाउँ आवश्यक पर्छ।

जङ्गलमा हुने झाडीहरू बेलाबेलामा पन्छाउँदै कलिलो घाँस आउने व्यवस्था मिलाउन सके त्यही चर्दै गैँडा रसलीलामा रमाउन सक्छ। यसले सङ्ख्या वृद्धिमा पनि सहयोग पु-याउँछ।” नेपाल प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाले निकुञ्जभित्र सहवासका बेला भालेले साना बच्चालाई आक्रमण गरेको आफूले प्रत्यक्ष देखेको बताउनुभयो।  

लामाले भन्नुभयो, “चार वर्षअघि हामी जङ्गलमै थियौँ। गैँडाको सानो बच्चा रक्ताम्मे भएर भाग्दै थियो। नकिजै भाले र पोथी रतिक्रीडामा थिए।” यसरी सहवास भएको गैँडाले १७ देखि १८ महिनामा गर्भमास पूरा गरेर बच्चा जन्माउँछ। यसरी जन्मिएको बच्चा भाले भए ६ वर्ष र पोथी भए तीन वर्षमा प्रजननका लागि योग्य हुन्छन्।

बच्चा जन्माएकी आमा भने दुई वर्षदेखि साढे दुई वर्षको अवधिमा फेरि यौन सम्बन्ध राख्न भाले खोज्न थाल्ने  गरेको पाइन्छ। दुर्लभ वन्यजन्तु एकसिङे गैँडाको सङ्ख्या नेपालमा ७५२ छ। यसमध्ये पनि गैँडाकै मुख्य वासस्थान चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रेकर्ड गरिएका छन्। नेपालमा गैँडाको  वृद्धिदर तीनदेखि चार प्रतिशत रहेको छ। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *