सूचीकृत कम्पनीको मर्जर तथा प्राप्ति : कारोबार बढीमा १५ दिन रोक्ने प्रस्ताव
इन्भेष्टोपेपर । श्रायण २७, २०७९
काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरू मर्जर वा प्राप्ति प्रक्रियामा जाँदा बढीमा १५ कार्य दिनमात्र शेयर कारोबार रोक्ने तयारी नेपाल धितोपत्र बोर्डले गरेको छ । बोर्डले तयार गरेको संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदामा उक्त प्रावधान समेटिएको हो । बोर्डको प्रस्तावअनुसारै निर्देशिका तयार भए मर्जर वा प्राप्तिका नाममा बढीमा १५ दिनमात्रै सम्बद्ध सूचीकृत कम्पनीको शेयर कारोबार रोकिनेछ ।
मर्जर वा प्राप्ति प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने अवधि पनि ६ महीना कायम गर्ने प्रावधान निर्देशिकाको प्रारम्भिक मस्यौदामा छ । बोर्डले निर्देशिकाको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै त्यसमा सरोकारवालाको सुझाव मागेको छ ।
मर्जर तथा प्राप्ति प्रक्रियाका क्रममा लामो समय सूचीकृत कम्पनीहरूको शेयर कारोबार रोक्का भएको विषयमा लगानीकर्ताबाट व्यापक असन्तुष्टि व्यक्त हुन थालेपछि बोर्ड अध्यक्ष रमेशकुमार हमालले उक्त परिपाटी हटाउन विशेष चासो देखाएका थिए । अहिलेसम्म मर्जर वा प्राप्ति प्रक्रियाका नाममा लामो समय सूचीकृत कम्पनीको कारोबार रोक्का भएका उदाहरण छन् । यसो हुँदा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेका व्यक्तिले जतिसुकै ठूलो आर्थिक समस्या पर्दा पनि शेयर बेचेर गर्जो टार्न सक्दैनन् ।
मर्जर तथा प्राप्ति प्रक्रियाका नाममा लामो समय शेयर रोक्का राख्न नहुने हमालको तर्क थियो । उनकै सक्रियतामा मर्जर तथा प्राप्ति प्रक्रियामा शेयर कारोबार रोक्का राख्ने अवधिबारे नयाँ व्यवस्था लागू गर्ने तयारी भएको हो । अध्यक्ष हमालले नेपाल राष्ट्र बैंकसँग छलफल गरी उक्त व्यवस्था परिमार्जन गर्नुपर्ने वकालत गरेका थिए । सोहीबमोजिम नेपाल राष्ट्र बैंकले शेयर कारोबार रोक्का राख्ने अवधिका विषयमा निर्णय गर्ने अधिकार बोर्डलाई दिएको हो । त्यसैअनुसार बोर्डले निर्देशिकाको मस्यौदा तयार गरेको हो ।
धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमा सर्वाधिक अंश बैंक तथा वित्तीय संस्थाको छ । नेपाल राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीतिमार्फत मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्ने विद्यमान प्रावधान खारेज गरी नेपाल धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था गरेको हो ।
मस्यौदा निर्देशिकामा भएको व्यवस्थाअनुसार अब एकीकृत व्यावसायिक कारोबार शुरू भएको मितिबाट गाभ्ने संस्था वा प्राप्त गर्ने संस्था र गाभ्ने संस्था वा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायत कामका लागि बढीमा १५ कार्य दिन शेयर कारोबार रोक्का राख्नुपर्ने छ । साथै संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्त गर्ने संस्थाको शेयर कारोबार रोक्न नपर्ने व्यवस्था मिलाउने बोर्डको तयारी छ ।
बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनीसम्बन्धी कानूनबमोजिम एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपछि त्यसको जानकारीसहित एकीकृत व्यावसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनुपर्नेछ ।
मर्जर तथा प्राप्ति प्रक्रिया प्रारम्भिक सम्झौता भएको ६ महीनाभित्र सम्पन्न गरिसक्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ । मर्जर वा प्राप्ति सम्झौता भाँडिएको खण्डमा के हुने भन्ने विषयमा भने निर्देशिकाको प्रारम्भिक मस्यौदा मौन छ ।
बोर्डले गरेको यी दुई व्यवस्थाले मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय लगानीकर्ताको सम्पत्ति बन्धक हुने समस्याको भने अन्त्य गर्नेछ ।
नयाँ ब्रोकर लाइसेन्स दिने प्रस्ताव मन्त्रिपरिषद्मा
अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को संशोधित मस्यौदा मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको छ । मन्त्रालय स्रोतका अनुसार उक्त मस्यौदा स्वीकृतिका लागि बिहीवारको मन्त्रिपरिषद् बैंठकमा प्रस्ताव गरिएको हो ।
धितोपत्र बोर्डले संशोधन प्रस्तावमा नयाँ ब्रोकरका लागि खुला लाइसेन्स मापदण्ड लागू गर्ने प्रस्ताव गर्दै धितोपत्र व्यापारी (स्टक डिलर) लाइसेन्सका लागि रू. १ अर्ब ५० करोड पूँजी प्रस्तावसहित नियमावली संशोधन गर्न मन्त्रालयमा पठाएको थियो । सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीलाई २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालका लागि ६० करोड चुक्तापूँजी प्रस्ताव गरेको थियो । याे समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित भएकाे छ ।
