राष्ट्रपति तथा प्रधानमन्त्रीबाट ‘क्रिसमस डे’को शुभकामना

इन्भेष्टोपेपर । पुष १०, २०७८

काठमाण्डाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाउनुभएको छ ।

उहाँले क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वाकस, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने पनि गर्नुभएको छ ।

यसैगरि प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधामन्त्री देउवाले कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन सङ्क्रमणका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गर्नुभएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *