मेटलाइफको रवि भवनमा नयाँ एजेन्सी कार्यालय स्थापना
Investopaper, पौष २४, २०७६
मेटलाइफले प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उद्घाटन गर्नुभयो ।
यो थप नयाँ कार्यालय पछि मेटलाइफको उपत्यका भित्र १० वटा कार्यालय सहित नेपालमा कुल ३१ वटा कार्यालयहरू पुगेका छन ।
रविभवनमा स्थापित कार्यालयले काठमाडौँको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्ने कम्पनीले जनाएकाे छ । यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन ।
MetLife, Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।
