ऐन संशोधन गरेर लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्ने तयारी
Investopaper, फाल्गुन २८, २०७५
साना किसानको नाम साना भए पनि काम ठूलो गरेको छ, लघुवित्त धेरै र ठूला कारोबार गर्ने पनि छन्, हामीले ‘घ’ वर्गका लघुवित्तलाई ‘ख’ वर्गमा स्तरोन्नति गर्ने पहल गरिरहेका छौँ ।’ – अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले ‘घ’वर्गका वित्तीय संस्थालाई ‘ख’ वर्गमा स्तरोन्नति गर्ने पहल भइरहेको बताएका छन् । लघुवित्त संस्थाहरूले पनि ठूला काम तथा कारोबार गरिरहेको भन्दै विकास बैंकमा स्तरोन्नति गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८औँ वार्षिक उत्सवमा बोल्दै अर्थमन्त्री खतिवडाले लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्ने सम्भावनाको खोजी भइरहेको बताएका हुन् । ‘साना किसानको नाम साना भए पनि काम ठूलो गरेको छ, लघुवित्त धेरै र ठूला कारोबार गर्ने पनि छन्,’ उनले भने, ‘हामीले ‘घ’ वर्गका लघुवित्तलाई ‘ख’ वर्गमा स्तरोन्नति गर्ने पहल गरिरहेका छौँ ।’
लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्न बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्नुपर्ने हुन्छ । साना किसानले पनि केन्द्रीय बैंकसँग ‘ख’ वर्गको सुविधा माग गर्दै आएको छ । अर्थमन्त्री खतिवडाले स्तरोन्नतिका लागि अहिले प्रारम्भिक चरणको प्रयास भइरहेको जानकारी दिए । ऐन संशोधन गरेर स्तरोन्नति गरिने उनले बताए ।
अर्थमन्त्री डा. खतिवडाले सहकारी र लघुवित्तको ब्याजदर बढी भएको भन्ने आरोप लाग्ने गरेको औँल्याउँदै त्यसको खण्डन हुने गरी काम गर्न सुझाब दिए । उनले न्यायसम्मत किसिमले साधन–स्रोतको परिचालन गर्न आग्रह गर्दै सबैले विश्वास गर्ने वातावरण बनाउन सुझाब दिए । उनले हरेक जिल्लाका सबै स्थानीय तहसम्म पुगेर गरिबी निवारणमा भूमिका खेल्न लघुवित्तहरूलाई आग्रह गरे ।
६ महिनामा २३ करोड खुद नाफा
उक्त अवसमार साना किसानका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले साना किसानको सेवाको दायरा फराकिलो हुँदै गएको जानकारी दिए । उनले साना किसानले चालू आवको ६ महिनामा २३ करोड ९१ लाख खुद नाफा आर्जन गरेको जानकारी दिए । ७८ करोड ६० लाख ३५ हजार रुपैयाँ चुक्ता पुँजी भएको साना किसानले हालसम्म ७५ अर्ब ३ करोड लगानी गरी ५७ अर्ब ६५ करोड असुली गरेको छ । याे समाचार अाजकाे नयां पत्रिकामा छ ।
