सार्वजनिक यातायातलाई व्यवस्थित गर्न थप नयाँ नियम

न्भेष्टाेपेपर । जेठ २८, २०८०

काठमाडौं ।  सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएसँगै सार्वजनिक सवारी सञ्चालन गर्ने व्यवसायीहरूका सङ्घसंस्थाले तयारी अगाडि बढाएका छन् ।

असार १ गतेदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीका लागि सन्देशमूलक अडियो बजाउनुपर्ने, ठुलो आवाजमा सङ्गीत बजाउन नपाइने, सवारी चालक तथा सहचालकहरूको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्ने लगायतका नियम लागू गर्न तयारी अगाडि बढाएका हुन् ।

त्यसका लागि सवारी साधनमा थप्नु पर्ने सुविधाचालक, सहचालकलाई दिनुपर्ने तालिम दिन व्यवसायी व्यस्त छन् । सवारी साधनमा काम गर्ने कर्मचारी मात्र होइन टिकट काउण्टरमा काम गर्ने कर्मचारीहरूले यात्रीसँग बोल्ने शैली र व्यवहार सुधार गर्न व्यवसायीहरूले तयारी थालेका छन् ।

यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० संशोधन गरी सार्वजनिक सवारीलाई व्यवस्थित बनाउन चालक र सहचालकले यात्रीसँग नम्र, शिष्ट तथा भद्र बोली व्यवहार गर्नुपर्ने र अनावश्यक कुरा गर्न नपाइने जस्ता नियमहरू टिकट काट्ने ठाउँमा र सवारी भित्रै टास्न थालेका छन् ।

यतिमात्र नभएर चालक र सहचालकलाई समय समयमा यी विषयमा सचेत गराइने व्यवसायीहरूको भनाइ छ । असार १ गतेदेखि सरकारले तोकेको मापदण्ड र सुविधा दिनुपर्ने भएपछि व्यवसायीहरूको व्यस्तता बढेको छ ।

आफ्नो सवारी साधन सफा राखी यात्रीको स्वास्थ्यमा ख्याल पुर्‍याउनुपर्ने, ठुलो आवाजमा ध्वनि प्रदूषण हुनेगरी सङ्गीत बजाउन नपाइने, लामो तथा मध्यम दूरीका सवारीले खाना खान रोक्दा स्वस्थ खानेकुरा र शौचालय राम्रो भएको ठाउँमा मात्र रोक्न पाउने जस्ता नियम उल्लेख गरिएकोले पूर्णरुपमा कार्यान्वयनमा ल्याउन लागिपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले बताउनुभयो ।

चालक र सहचालकले पहिचान खुल्ने गरी अनिवार्य रूपमा पोसाक लगाउनु पर्ने र कम्पनीले दिएको परिचयपत्र लगाउने व्यवस्था गर्न सरकारले व्यवसायीहरुलाइ निर्देशन दिएको छ ।

लामो रुटका सार्वजनिक सवारीमा चालक र सहचालकले अभद्र व्यवहार गर्ने, यात्रुले पनि सरसफाइ लगायतका विषयमा ध्यान नदिँदा सार्वजनिक सवारी साधन व्यवस्थित हुन नसकेको भनाइ सर्वसाधारणको छ । असार १ गतेदेखि सार्वजनिक सवारीमा यी नियमहरू टाँसिसकेपछि निगरानी अगाडि बढाउने महासङ्घले जनाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *