विश्व मस्तिष्कघात दिवस : नेपालमा मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

इन्भेष्टाेपेपर । कार्तिक १२, २०८३

काठमाडौँ । मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन् । मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउने गरेको नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले बताउनुभयाे । 

‘हरेक मिनेट महत्वपूर्ण हुन्छ’ नाराका साथ आज नेपालमा पनि मस्तिष्कघात दिवस मनाउन लागिएको छ । नेपालमा प्रत्येक १० मिनेटमा एक जनामा मस्तिष्कघात हुने गरेको उहाँको भनाइ छ । ‘विश्वमा हरेक चार जनामा एक जनालाई र तीन सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना हुन्छ, यसबाट सजग हुनुपर्छ,’ उहाँले भन्नुभयाे ।

विश्वभर प्रत्येक वर्ष मस्तिष्कघातका कारण एक करोड २० लाख मानिस प्रभावित हुँदै आएका छन् । प्रभावितमध्ये ५० प्रतिशतको मस्तिष्कघातका कारण मृत्यु हुने गरेको डा. पौडेलले बताउनुभयाे ।

उहाँका अनुसार मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ, मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । त्यसैलाई मस्तिष्कघात भनिन्छ ।

नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम हुँदै आएको छ । डा पौडेलले मस्तिष्कघातको उपचारका लागि अन्तरराष्ट्रिय मापदण्ड तय गरिँदै आएको बताउनुभयाे ।

सङ्घले जर्मनीको हाइडलबर्गको युनिभर्सिटी हस्पिटलसँग पक्षघात सहकार्य गर्दै आएको छ । त्यसैगरी, जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा मस्तिष्कघातसम्बन्धमा काम गर्दै आएको छ ।  नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ । नेपालमा अहिले मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको बताइन्छ । 

उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । 

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए चार घण्टाभित्रै अस्पताल पुग्न सके उपचार सम्भव रहेको डा. पौडेल बताउँनुहुन्छ । मस्तिष्कघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र  यसका अतिरिक्त बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *