मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रमहरुको आयोजना
इन्भेष्टोपेपर । पुष १९, २०७८
काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले १५ औं वर्ष पार गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यसै अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ ।
बैंकले प्रदेश नं ०१ मा ४ वटा, प्रदेश नं ०२ मा ३ वटा , बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा , लुम्बिनी प्रदेशमा ५ वटा र सुद्धरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरुको औपचारीक रुपमा शाखा समुद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गर्नुभयो ।
यसैगरी, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु , संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।
यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ, जसमध्ये, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताका कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ ।
यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरुले वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौको केन्द्रीय कार्यालय – कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो । उक्त कार्यक्रमबाट कुल २०२ पोका रगत संकलन गरेको छ । माथि उल्लेखित सामाजिक उत्तरदायित्व कार्यक्रमहरुका लागि कुल रु १०,००,०००।– बढी बराबरको सहयोग गरेको बैकले जनाएकाे छ ।
