आइपिएल-२०२० काे उपाधि मुम्बई इन्डियन्सले उचाल्याे
इन्भेष्टाेपेपर । कार्तिक २६, २०७७
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।
दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै आइपिएलको पाँचौ उपाधि जित्न सफल भएको हो । पाँचै उपाधि मुम्बईले रोहित शर्माको कप्तानीमा जितेको हो । मुम्बईलाई सहज जित दिलाउन कप्तान रोहित शर्मा ५१ बलमा ५ चौका र ४ छक्का सहित ६८ रनको योगदान दिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहेपनि उपाधिको लागि पर्याप्त भएन ।
